Shittalpati
जेष्ठ नागरिकलाई घरमै पुगी उपचार सेवा प्रदान

पाल्पा,पाल्पाका दश वटै स्थानीय तहका ८१ वडाहरुमा यही पुसको चौथो हप्ता देखी माघको दोस्रो हप्ता सम्म ८० वर्ष भन्दा माथीका जेष्ठ नागरिक, अति अशक्त नागरिकहरुको लागी घर–घरमै पुगेर उपचार प्रदान गरिने भएको छ । 

तानसेनमा बसेको जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र दश वटै पालिकाका स्वास्थ्य शाखाको संयुक्त बैठकले पाल्पाका सबै पालिकाहरुले पुसको चौथो हप्तादेखी माघको दोस्रो हप्तासम्म घर–घरमै पुगेर जेष्ठ नागरिक तथा अतिअशक्त नागरिक उपचार सेवा प्रदान गर्ने निर्यण गरेको हो । 

पालिकाका स्वास्थ्य शाखाको समन्वयमा पुसको पहिलो हप्तामा स्वास्थ्यकर्मीहरुसंग बैठक बस्ने, वडा टोलमा उपचारको लागी जाने मिति स्वास्थ्यकर्मीको विवरण तयार पार्ने, सो विवरण जिल्ला स्वास्थ्य कार्यालयमा पेश गर्ने बैठकमा निर्यण भएको छ । गत वर्ष पालिकाहरुले आ–आफ्नो शैलीबाट ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिक तथा अति अशक्तहरुलाई घरमै पुगी सेवा प्रदान गरेको यस वर्ष लुम्बिनी प्रदेश सरकारले सेवामा एकरुपता ल्याउन र उपचार सेवालाई अझै विशिष्टिकरणको तयारी गर्न यो अभियान सञ्चालन गर्न लागेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र कुमार गिरीले बताए ।  पाल्पामा गत वर्ष ७० वर्ष भन्दा माथिका ६ हजार ५ सय ९६ जना जेष्ठ नागरिकहरुको घर– घरमै पुगि स्थानीय सरकारबाट स्वाथ्य उपचार पाएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीले बताए । कार्यक्रममा पाल्पाका दश वटै स्थानीयतहका स्वास्थ्य शाखा प्रमुखहरुले घर–घरमै पुगी प्रदान गरेको  गत वर्षको गरेको कार्यक्रमको अवस्था, चुनौती तथा सुझावहरु प्रस्तुत गरेका थिए । यस वर्षको कार्यक्रमको खाका तथा तयारीका बारेमा समेत बैठकमा शाखा प्रमुखहरुले जानकारी गराएका थिए । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद पाठक, तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्की, पाल्पा उधोग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा लगायतले कार्यक्रमको प्रभावकारीता, आईपर्ने चुनौती, पालिका स्तर बाट भएका गतिविधीहरु चर्चा गरेका थिए । 
 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update