Shittalpati
प्याजको मूल्यमा अचाक्ली वृद्धि, किलोकै १५०

पाल्पा, भारत सरकारले प्याजको निर्यात रोकेपछि पाल्पामा प्याजको मूल्य अचाक्ली वृद्धि भएको छ । जिल्लामा गएको महिना  प्रतिकेजी ८० देखि ९५ रुपैयाँ रहेको प्याजको मूल्य पछिल्लो दिन प्रतिकेजी एक सय ३० देखि एक सय ५० सम्म विक्री गरिएको छ । प्याजको मूल्य एक्कासी वृद्धि भएपछि स्थानीय उपभोक्ता मारमा परेका छन् । भारतले प्याज निर्यात रोकेको भन्ने थाहा पाएपछि  स्थानीय विक्रेताले मनोमानी रूपमा प्याजको मूल्य बढाएको उपभोक्ताहरूको गुनासो छ ।

भारतबाट आउन छोडेपछि यहाँ पर्याप्त मात्रमा प्याज समेत पाइनै छाडेको छ । आक्कल झुक्कल कुनै पसलमा पाइने प्याज पनि अचाक्ली महँगो छ । कुनै व्यापारीहरुसँग  यस अघि भएको प्याज पनि महँगोमा बिक्री भइरहेको छ । व्यापारीहरुले एक किलो प्याजको मूल्य एक सय ३० देखि एक सय ५० सम्म लिने गरेको उपभोक्ताहरु बताउँछन् । जबकी एक हप्ता अघि प्याज एक सय २० रुपैयाँमा प्रतिकिलो पाइन्थ्यो । भारतले निर्यात रोकेको बहानामा व्यापारीहरुले स्टकमा रहेको प्याजको कृत्रिम अभाव सिर्जना गर्दै महँगोमा बेचिरहेको आशंका उपभोक्ताहरुको छ । भारतले मंसिर २२ देखि लागू हुने गरी प्याज निर्यातमा बन्देज लगाउने निर्णय गरेको थियो । भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार निर्देशनालयले सन् २०२४ मार्च ३१ सम्मका लागि प्याज निर्यात बन्देज गर्ने निर्णय गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) विवादले नेपाली व्यवसायीले गत मंसिर १९ देखि प्याज आयात र बिक्री गरेनन् । उनीहरु केही समय आन्दोलित भए । व्यवसायीको हड्ताल र भारतको निर्यात बन्देजले आम उपभोक्तालाई प्रत्यक्ष मार परेको छ ।   व्यवसायीले स्टककै प्याजमा मूल्य बढाएपछि सर्वसाधारण महँगोमा किन्न बाध्य छन् । मंसिरको दोस्रो हप्तातिर प्रतिकिलो एक सय २० मा प्याज किनेर ल्याएको सोमबार त्यही पसलमा गएर किन्दा एक सय ५० भनेको तानसेनको भगवतीटोलमा भाडामा बस्दै आएकी सुकमाया सारुले बताईन् । उनले भनिन्,‘हामी जस्ता निम्न आए भएकाहरुले अब प्याज पनि खान नसकिने भयो ।’ ‘प्याज जस्तो कुरामा किन एकै चटी अचाक्ली मूल्य बढाएको होला ?’ तानसेनको एक किराना पसमा भेटिएकी कैलाशनगरकी मिना खत्रीले भनिन् । अस्तीसम्म त एक सय २०  मा बेच्ने गरेको प्याज एकाएक एक सय ४०/५० मा किन्नु परेको उनको भनाई  छ । खत्रीले व्यापारीहरुको मनपरीले आफुहरु मारमा परेको गुनासो गरिन् । जिल्लामा दैनिक कति प्याज खपत हुन्छ  भन्ने कुनै पनि निकायसँग त्यो यकिन तथ्याड्ढ छैन । व्यवसायीले मनोमानी रूपमा खाद्य वस्तुमा एकपछि अर्को मूल्य वृद्धि गरेपनि बजार अनुगमनको जिम्मा पाएका स्थानीय निकाय चुपचाप छन् । बजार अनुगमन गर्दै अस्वाभाविक मूल्य वृद्धिलाई रोक्नुपर्ने निकाय नै चुपचाप भएपछि उपभोक्ता मूल्य वृद्धिको चपेटामा पर्दै आएको उपभोक्ता अधिकार मञ्च केन्द्रका सदस्य माधव नेपालले बताए । उनले भने,‘उपभोक्ताहरुबाट  व्यापक गुनासो नआउँदासम्म यहाँका अनुगमन गर्ने निकायहरु मौन बस्छन्, जसका कारण उपभोक्ताहरु पटक –पटक महँगो मूल्य तिरेर खाद्यान्न उपभोग गर्न बाध्य छन् ।’ आफुहरुले पनि बेला बेलामा सम्बन्धित निकालाई अनुगमन गर्न आग्रह गरे पनि चासो नदिने र दिए पनि प्रभावकारी रुपमा अनुगमन नगर्ने गरेको उनको गुनासो छ । स्थानीय निकायले पाएको अनुगमन तथा दण्ड जरिवानाको अधिकारलाई कडाइका साथ कार्यान्वयनमा नल्याएसम्म उपभोक्ता मूल्य वृद्धिको चपेटामा निरन्तर पर्ने नेपालको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update