Shittalpati
ग्लोबल आइएमई बैंकको अध्यक्षमा पुनः ढकाल

पाल्पा,ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बैंकको १७ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रूपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत हुन् । साधारणसभाबाट संस्थापक सेयरधनीमध्येबाट अध्यक्ष ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त तथा सर्वसाधारण सेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल उपाध्याय, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा सञ्चालक समितिमा निर्वाचित भएको जनाइएको छ ।

साधारणसभाले अध्यक्ष ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको बोनश शेयर तथा नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रुपैयाँ र कर पछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्नेछ । साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना शेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए । उनले बैंकले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताए । बैंकले देशभरका ७७ वटै जिल्लामा ३५५ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित १ हजार १ सय भन्दाबढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update