Shittalpati
रेडक्रसद्वारा पाल्पाका दश स्थानीय तहलाई स्वास्थ्य सामग्री

रामचन्द्र रायमाझी

पाल्पा । सामाजिक संस्था नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले स्थानीय तहलाई कोरोनाविरुद्व लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेकै बेला रेडक्रसले जिल्लाका दशवटै स्थानीय तहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको हो । प्रदेश पाँचमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्लामा पनि उच्च सावधानी अपनाउन भन्दै अष्ट्रेलियन रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा शाखा अन्तर्गत सञ्चालित सामुदायिक स्वास्थ्य एंव प्राथमिक उपचार परियोजनामार्फत स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको शाखाका सभापति बुद्धिप्रसाद शर्माले बताए ।

रेडक्रसले प्रति स्थानीय तह इनफरेड थर्मोमिटर १ थान, फेस माक्स २ सय ५० थान, सर्जिकल ग्लोभ्स ३ सय थान, सोडियम हाइपोक्लोराइट ५ लिटर, ह्याण्ड सेनिटाइजर ८ सय मिलि लिटर (५ सय) सहित, ओर्कीङ्ग ग्लोभ्स १ जोडी, सावुन २५ वटा, सेनेटरी प्याड ९ प्याकेट, बाल्टीन १० लिटरका ४ वटा, मग ४ वटाका दरले स्वास्थ्य सामग्री वितरण गरेको छ । उक्त स्वास्थ्य सामग्री शाखाका सभापति शार्मले गाउँपालिकाका प्रमुख,उप–प्रमुख,स्वास्थ्य संयोजकहरुलाई हस्तान्तरण गरेका थिए । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै सभापति शार्मले विपत् र महामारीका बेला एकले अर्कालाई मद्दत गर्न र सामाजिक सद्भाव कायम होस् भनि सानो सहयोग गरेको बताए ।

उनले कोभिड–१९ को जोखिम हुन नदिन सोसाइटीले विभिन्न मानवीय सेवाका काम गरिरहेको बताए । सामग्री ग्रहण गर्दै तानसेन नगरपालिकाका उप–मेयर लक्ष्मी देवी पाठक, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसी लगायतले विपत्का बेला रेडक्रसले स्थानीय सरकार प्रति देखाएको सहयोग र सद्भावको प्रशसां गर्दै प्राप्त सामग्री आवश्यकताका आधारमा सही ठाउँमा उपयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कोरोनाविरुद्ध सामूहिक सहकार्य, सहयोग र समन्वय आवश्यक पर्छ ।

यसका लागि रेडक्रस लगायत सामाजिक संघसंस्था तथा स्वयंसेवीको भूमिका महत्वपूर्ण रहने उनीहरुले विश्वास व्यक्त गरेका छन् । रेडक्रस शाखाका प्रमुख बाबुराम कार्की, मन्त्री केशव पौडेल,कार्यक्रम अधिकृत विनोद भारतीले स्वास्थ्य सामग्रीका विषयमा जानकारी गराएका थिए । कोभिड १९ कोरोना भाईरसबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि रेडक्रसले आफ्ना प्रयासहरु जारी राखेको छ । समुदायमा मोटिभेटरहरु र परियोजनाका कर्मचारीहरुले बाहिरबाट आएकाहरुलाई विशेष ख्याल गर्दै दैनिक फोन गर्ने र स्वास्थ्यको बारेमा जानकारी लिने समेत गरिएको रेडक्रसका कार्यक्रम अधिकृत भारतीले बताए । रेडक्रसले यस अघि जिल्लामा सञ्चालित १२ वटा एम्बुलेन्सका चालकहरुलाई पिपिइ, ट्राफिक प्रहरी र खानेपानी कार्यालय अन्र्तगत नियमित परिचालित लायन्सम्यानहरुलाई समेत स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update