Shittalpati
२६ प्रतिशतले बढ्यो रेमिट्यान्स

पाल्पा, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले साउनदेखि कार्तिकसम्मको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको हो ।

सार्वजनिक प्रतिवेदन अनुसार साउनदेखि कार्तिकसम्म चार खर्ब ७७ अर्ब ९६ करोड बराबरको (विप्रेषण) रेमिट्यान्स मुलुक भित्रिएको छ । यो रकम गत वर्षको यसै अवधिको तुलनामा २६ दशमलव चार  प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दशमलब एक प्रतिशतले वृद्धि भई तीन अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलब आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ३७ हजार चार सय ७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार आठ सय ४१ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ९६ हजार सात सय ३५ र ८७ हजार  चार सय २८ थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २४ दशमलव नौ प्रतिशतले वृद्धि भई  पाँच खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २० दशमलव दुई प्रतिशतले बढेको थियो ।

यस्तै चालुआर्थिक वर्षको  चार महिनामा विदेशी मुद्रा सञ्चिति १० दशमलव दुई प्रतिशतले बढेको छ । विवरण अनुसार गत कात्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ । कूल विदेशी सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १४ खर्ब ९० अर्ब ८३ करोड बराबर छ । केन्द्रीय बैंकका अनुसार २०८० असार मसान्तमा  १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चितिमा १० दशमलब दुई  प्रतिशतले वृद्धि भई गत कात्तिक मसान्तमा १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको हो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update