Shittalpati
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालद्वारा तानसेनमा रक्तदान

पाल्पा । नेपाली काँग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल(सिडेन) प्रदेश पाँचले तानसेनमा रक्तदान कार्यक्रम गरेको छ । बिरामीका लागि रगतको अभाव हुन नदिन सिडेनले सोमबार (आज) रक्तदान कार्यक्रम गरेको हो ।

सिडेनको आयोजना, नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाको समन्वय र लुम्बिनी मेडिकल कलेज प्रभासको प्राविधिक सहयोगमा रक्तदान भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य तथा युवा नेता हिमालदत्त श्रेष्ठले रक्तदान गरेर उद्घाटन गरेका थिए । जिल्लामा रगतको अभाव भइरहेका बेला सिडेनले रक्तदान कार्यक्रम गर्नु आफैमा प्रसंशनिय रहेको भन्दै श्रेष्ठले संस्थालाई धन्यवाद दिए । उनले मानविय जीवनमा रगतको महत्वपूर्ण भूमिका रहेकाले जुनसुकै बेला मानिसमा रगत अभाव हुन सक्ने भन्दै समयमै त्यसको व्यवस्था मिलाउने कार्यमा संस्थाले देखाएको तदारुकताको प्रसंसा गरे ।

महासमिती सदस्य श्रेष्ठले भने ‘आजसम्म मानिसको लागि रगतको कृत्रिम विकल्प बनेको छैन, त्यसले गर्दा पनि रक्तदान गर्नु अत्यन्त महत्वपूर्ण कार्य हो ।’ कार्यक्रम संयोजक अर्जुन पाण्डेले स्वास्थ्य संस्थामा देखिएको रगतको कमीलाई परिपूर्ति गर्न प्रदेश पाँचका ६ वटा जिल्लाहरुमा एकै साथ रक्तदान कार्यक्रम गरिएको बताए । उनले ‘हामीले रेडक्रसलयागत विभिन्न अस्पताल र संघसस्थाहरुसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेका हौ ।’ कार्यक्रममा १५ जना व्यक्तिहरुले रक्तदान गरेका थिए । सिडेनले तानसेन, बुटवल, दाङ्ग, परासी,तौलिहवा, नेपालगञ्ज एकै साथ रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा लुम्बिनी मेडिकल कलेजका प्राविधिक कुमार राना र रेडक्रसका कार्यक्रम अधिकृत विनोद भारतीले रक्तदानमा प्राविधिक सहयोग गरेका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update