Shittalpati
आज अन्तर्राष्ट्रिय तटस्थ दिवस

पाल्पा, विश्वमा पूर्ण स्वतन्त्रताको अपेक्षासहित मनाइने अन्तर्राष्ट्रिय तटस्थता दिवस आज परेको छ । प्रत्येक वर्ष डिसेम्बर १२ मा विश्वभर यो दिवस मनाउने गरिएको छ । यो राष्ट्रसंघद्वारा घोषित तटस्थता दिवस हो । तुर्किमेनिस्तानद्वारा प्रस्तावित महासभाद्वारा प्रस्ताव नं. ७१/२७५ मार्फत विनामतदान पारित गरिएदेखि यो दिवस मनाउन थालिएको पाइन्छ ।

शान्तिका लागि तटस्थताको आवश्यकतालाई ध्यानमा राख्दै हरेक वर्ष संयुक्त राष्ट्र संघले आफ्ना सदस्य राष्ट्रहरू मार्फत दिवस मनाउने गरेको छ । राष्ट्रहरूको आन्तरिक नीतिमा तटस्थताको सिद्धान्त लागू गर्न सके मात्र विश्व शान्तिको नारा गुञ्जायमान रहन्छ भन्नेमा राष्ट्रसंघको विश्वास रहेको पाइन्छ । राष्ट्रसंघको मुख्य कार्यहरुमा कूटनीति प्रमुख मध्य पर्दछ । राष्ट्रसंघले तटस्थताको पैरवीका साथै रोकथामका कुटनीतिको पनि पैरवी गर्दै आएको छ । आसन्न भारत पा विवाद, मध्यपूर्व र पश्चिमा देशहरूको तनाव, उत्तर दक्षिण कोरिया विवाद लगायतहरुमा राष्ट्रसंघले तटस्थताको पैरवी र मध्यस्थतताको कार्य गर्दै आएको छ । विशेषगरी विश्वयुद्धताका ध्रुविकृत भएका देशहरूमा विश्व परिवेश भन्दा पनि गुटवन्दी र समूहको प्रभाव बढी देखिएको थियो । अबको विश्वमा सबै राष्ट्रहरूको सार्वभौमिकताको पहिचान स्वीकार गर्दै तटस्थ र शान्ति मैत्री विश्व समाजको अवधारणा यस दिवसले अघि सारेको छ । 

राजनीतिक द्वन्द्व, संकट युद्वसमेतबाट आक्रान्त भइरहेका वखत कूटनीतिसमेत प्रतिक्रियामा आधारित भई विकास भइरहेको समयमा द्वन्द्व संकट र युद्वसमेतलाई रोक्ने ध्येयले थालनी भएको ‘प्रिभेन्टिभ डिप्लोमेसी’को आरम्भसमेत मान्ने गरिएको यो दिवस नेपालजस्ता विकासोन्मुख देशहरूका लागि उपयोगी हुने ठानिएको छ । त्यसो त आजको भूमण्डलीकृत विश्वमा तटस्थ र असंलग्न भन्ने कुरा सम्भव छैन पनि भन्ने गरिन्छ । तथापि असंलग्न आन्दोलनले विश्व राजनीतिमा आफ्नो प्रभाव छाडेर निष्क्रिय बनेको अवस्थामा तटस्थता आन्दोलनको आरम्भ एक हिसाबले राजनीतिक र कूटनीतिक महत्वको विषय बन्न पुगेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update