Shittalpati
पाल्पामा काँग्रेसको सम्मेलनका लागि ठाउँ–ठाउँमा छलफल

पाल्पा, नेपाली काँग्रेसको यही मंसिर ३० गते पाल्पाको सदरमुकाम तानसेनमा हुन लागेको प्रथम जिल्ला सम्मेलनको तयारीका लागि ठाउँ–ठाउँमा छलफलका कार्यक्रमहरु भइरहेका छन् । पाल्पा काँग्रेसले जिल्लाका सबै पालिका र वडा तहमा पुगेर सम्मेलनको तयारीका लागि छलफल चलाएको हो ।   

रामपुर नगरपालिका र रम्भा गाउँपालिकामा सम्मेलनलाई कसरी सभ्य र भव्य बनाउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको छ । रामपुरमा भएको छलफलमा सम्मेलनलाई सफल बनाउन वडातहदेखि नै पार्टीका सबै सरंचनाहरुलाई परिचालन गरिने निर्णय भएको छ । नगर सभापति  नेत्र भट्टराईले पार्टीलाई सशक्त र क्रियाशील बनाएर अगाडि बढाउनका लागि हुुन लागेको जिल्ला सम्मेलनलाई नगरबाटै व्यापक तयारी थालिएको बताए । छलफलमा नेपाली काँग्रेसका जिल्ला उपसभापति झपेन्द्र गहिरेले  पार्टीलाई जनतासँग जोड्ने अभियानका रुपमा सम्मेलन हुन लागेकोले सबै एक जुट भएर लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे । उनले राष्ट्रियता, प्रजातन्त्र, समाजवादको रक्षा गर्दै मुलुकमा शान्ति र सुशासन कायम राख्न सम्मेलन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

पार्टी सचिव सुनिता अधिकारीले मंसिर ३० मा हुन लागेको प्रथम जिल्ला सम्मेलनले आम नागरिकमा एक किसिमको उत्साहज छाएको भन्दै  कार्यक्रमलाई  सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताईन् । सम्मेलनको तयारी तीव्र गतिमा अगाडि बढेको समेत उनले जानकारी दिईन् । रम्भा गाउँपालिकामा पनि तयारीका बारेमा छलफल भएको छ । पालिका सभापति ऋषिराम अर्यालको अध्यक्षतामा भएको छलफलमा जिल्ला सम्मेलनलाई सफल बनाउन वडादेखि पालिकासम्मका पार्टीका व्यक्ति सशक्त भएर लाग्ने निर्णय भएको काँग्रेस जिल्ला सदस्य तथा युवा नेतृ  गिरिजा गैरेले जानकारी दिईन । उनका अनुसार जिल्लाका अन्य पालिकाहरुमा समेत छलफल भइरहेको छ ।

सम्मेलनका लागि जिल्ला सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति र विभिन्न उपसमिति गठन गरी तयारी तीव्र पारिएको छ । सम्मेलनको काँग्रेसका केन्द्रीय पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनलाई सम्बोधन गर्न सभापति देउवासहित वरिष्ठ नेता शेखर कोइराला, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा पनि आउने छन् । सम्मेलनका लागि विभिन्न राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदन पेस हुनेछ । 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update