Shittalpati
छाला नहुँदा मादल बनाउने पेशा संकटमा

वालिङ (स्याङ्जा), मादल बनाउनका लागि अत्यावश्यक पर्ने छालाको अभाव हुँदै जाँदा पेसा नै संकटमा पर्न थालेको छ । मादल लगायत बाजा बनाउन आवश्यक पर्नेे विशेषगरी गोरुको छाला नपाइँदा पेसा नै संकटमा पर्दै गएको मादल व्यवसायी विकास गन्धर्व बताउँछन् । 

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कारागार चोकमा मादल बनाउँदै आएका उनले मादल लगायत बाजा बनाउन माग भएपनि छालाको अभावले माग अनुसारको मादल बनाउन नसकिएको बताए । ‘हामीले यहीँ नै पूखौँदेखि मादल बनाउने पेसा अङ्गाल्दै आएका हौँ पहिला छालाको अभाव थिएन तर आजभोलि गाई–गोरुको छाला पाइदैन, त्यसैले भनेजस्तो बाजा बनाउन सकेका छैनौँ,’ उनले भने, ‘गाई–गोरुको छालाबाट बनाइएको मादल राम्रो हुनाका साथै बाजाको आवाज पनि फरक खालको हुन्छ हामीले बाजा बनाउन गाई–गोरु मार्न खोजेका होइनौँं, कानुन विपरीतको काम गर्दै गर्दैनौँ तर अचेल मरेको गाई तथा गोरुको छाला तर्न पनि पाएका छैनौंँ ।’ गाई–गोरुको छाला पाउन छाडेसँगै विकल्पका रुपमा उँट तथा बाख्राको छाला प्रयोग गरे पनि त्यो राम्रो नहुने र उँटको छाला पनि बाहिरबाट प्रशोधन गरेर ल्याउँदा महँगो पर्नाका साथै उक्त छालाबाट  बनाइएको बाजाको आवाज राम्रो नआउने विकासले बताए ।

त्रिपन्न वर्षीय पदम गन्धर्वले आफ्ना हजुर बुवा तथा बुवाहरुबाट सिकेको सीप अहिले आफ्ना छोरालाई हस्तान्तरण गरेका छन् । आफूले जानेको सीप छोरालाई सिकाइएकाले अहिले छोराहरुले सबै प्रकारका मादल ब्यावसायिक रुपमै उत्पादन गर्दै आइरहेको उनले उल्लेख गरे । विकासले पनि १४ वर्षदेखि मादल बनाउन सिकेको बताए । अहिले पदमसहित परिवारका चार–पाँच जनाले यही पेसालाई निरन्तरता दिई आम्दानी गर्दै आइरहेका छन् । मादल बनाउन पहिला भीडभाड हुने गरेको स्मरण गर्दै पदमले भने, ‘अहिले त छालाको अभाव एकातिर छ भने अर्कोतिर साउण्ड सिस्टम तथा स्पिकरले यस पेसालाई चुनौती दिइरहेको छ ।’ मादलका लागि आवश्यक पर्ने उत्तिस तथा कटहरका काठ र बारुद धादिङका गाउँबाट ल्याउने गरेको र यसबाट ढोलकी, दमाहा, ट्याम्को, ढ्याग्रो, खैंँजडी, तन्दुर र नेवार समुदायले प्रयोग गर्ने खिनलगायत सानादेखि ठूला मादल बन्ने गरेको छ । सानोमा एक हजार आठसयदेखि ठूलोमा बीस हजारसम्म पर्ने मादल यहाँ छन् । यहाँ उत्पादन भएको मादल पाल्पा, बुटवल, पोखरा, बागलुङका साथै अमेरिका, अष्ट्रेलिया, जापानमा पुग्ने गरेको छ । ‘हाम्रो पेसामा अहिले देखिएको मुख्य समस्या भनेकै गाई–गोरुको छाला हो’ पदमले भने, ‘विशेष गरी दमाहाका लागि र तुना बनाउन गाई –गोरुको छाला नभइ हुँदैन, त्यो पाइदैन, नपाउँदा नयाँ बनाउन वा मर्मत गर्न पनि सकस परेको छ ।’  

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update