पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका –७ दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका दुई जना मध्ये एक जना मृत फेला परेका छन् । बगनासकाली गाउँपालिका –९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल बुधबार विहान मृत अवस्थामा भेटिएका हुन् ।
उनी मंगलबार नयाँ वर्षका दिन साथीभाईसँग कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए । बेपत्ता उनको खोज्ने क्रममा कालीगण्डकी नदीको बीच भागमा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार पौडी खेल्ने क्रममा उनीसँगै गएका अर्का सोही ठाउँका ३९ वर्षीय शरण भुसाल बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मंगलबार करिब ५ बजेको समयमा पौडी खेल्ने क्रममा डुबी वेपत्ता भएको स्थानीयले जानकारी दिएपछि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी पुगेको थियो । प्रहरी र स्थानीय बासिन्दाले कालीगण्डकी नदी किनारमा खोजतलास गरिरहेका छन् ।


