Shittalpati
पाल्पामा ‘एआई’को प्रयोगबाट क्षयरोगीको खोजी

पाल्पा,पाल्पामा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को प्रयोगबाट क्षयरोगीहरुको खोजी थालिएको छ । लक्षण नदेखिए पनि क्षयरोगका किटाणु शरीरभित्र हुन सक्ने भएकाले एआइ एक्सरेमार्फत विरामीहरूको पहिचान गरी समयमै उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले जिल्लामा एआईमार्फत खोजविन अभियान सञ्चालन गरिएको हो ।

समुदायमा क्षयरोगीको संख्या बढ्दै गएपछि  क्षयरोग पत्ता लगाउन स्वास्थ्यकर्मीको टोली आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बोकेर यहाँका स्थानीय तहहरुमा पुगेका छन् । केही दिन यता जिल्लाको पूर्वखोला गाउँपालिकामा एआई  प्रविधिबाट क्षयरोगका बिरामी पहिचान गर्ने विशेष अभियान सञ्चालन गरिएको छ । क्षयरोग नियन्त्रण कार्यक्रम अन्तर्गत सञ्चालित  अभियानले  पूर्वखोलका दुर्गम क्षेत्रका सयौं नागरिकलाई गाउँघरमै अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गरेको छ । गाउँपालिकाको आयोजना, जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र विएनएमटी नेपालको प्राविधिक सहयोगमा यहाँ सम्भावित क्षयरोगीहरुको खोज पड्ताल  कार्यक्रम सञ्चालन गरिएको हो । पालिकाको  वडा नं. ५ विरकोट स्वास्थ्य चौकी र वडा नं. १  सिलुवा स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरी शंकास्पद बिरामीहरूको परीक्षण गरिएको छ । पालिकालाई क्षयरोगमुक्त बनाउने उद्देश्यले  शिविर सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । समुदायमा लुकेर रहेका क्षयरोगका बिरामीहरूलाई छिटो र छरितो ढंगले पत्ता लगाउन एआई एक्सरे प्रविधि प्रयोग गरेको उनको भनाई छ । सामान्य एक्सरेमा नदेखिने सूक्ष्म समस्याहरू पनि यो प्रविधिले तत्काल पहिचान गर्ने हुनाले उपचार प्रक्रिया सहज भएको ढकालले बताए । वडा नं. ५ विरकोट स्वास्थ्यचौकीमा १८७  जनाको परिक्षण गरेकोमा ३४ जना शंकास्पद विरामी भेटिएको र १ जनाको तत्कालै उपचार शुरु गरिएको छ । यसैगरी वडा नं. १ को सिलुवा स्वास्थ्यचौकीमा २८० जनाको परीक्षण गरेकोमा ४५ जना क्षयरोगीका शंकास्पद विरामी भेटिएको र ३ जना  तत्कालै उपचार शुरु गरिएको छ । दुबै स्वास्थ्यचौकीमा परीक्षणको क्रमा भेटिएका शंकास्पद क्षयरोगीहरुको थप परीक्षणको लागि तानसेनको मिसन अस्पताल रिफर गरिएको छ । एआई  प्रविधी एक्सरेले फोक्सोको तस्बिरलाई सफ्टवेयरमार्फत विश्लेषण गर्छ र क्षयरोगको सम्भावनालाई प्रतिशतमा देखाउँछ, । यो प्रविधीबाट परीक्षण गर्दा  लुकेर बसेका नयाँ क्षयरोगीका विरामी पत्ता लगाएर उपचारमा ल्याउने, अरुलाई सर्न नदिने प्राविधिक साझेदार विएनएमटी  नेपाल पाल्पा परियोजना संयोजक सुदिप पौडेलले बताए ।

एआई प्रविधिले स्वास्थ्यकर्मीको कार्यक्षमतामा सहयोग पु¥याउँछ, एक्सरे गर्ने वित्तिकै फोक्सोमा भएका दाग वा संक्रमणलाई मानव आँखाले भन्दा सूक्ष्म रूपमा विश्लेषण गर्छ सुरुवाती अवस्थामै रोग पत्ता सहयोग पुर्‍याउछ  जसले गर्दा बिरामीको ज्यान जोगिने र अरूलाई सर्ने जोखिम निकै कम हुन्छ । समुदायमा लुकेर बसेको क्षरोगका विरामीहरु खोजपडताल, सानो भन्दा सानो लुकेर बसेको व्याक्टेरिया पत्ता लगाउन सजिलो हुन्छ छाति खराब छ भने लक्षण मिल्दो छ भने तत्काल खकार जाँच गराई क्षयरोगका विरामीको यकिन गरिएको छ । अरु एक्सरे मेसिन भन्दा एआई प्रविधिले विरामी पत्ता लगाउन सजिलो भएको शिविरमा संलग्न एआई प्रविधिबाट क्षयरोग चेकजाँच  गर्दै आएका शिविरमा सहभागी यसोधरा आधारभुत अस्पताल कपिलबस्तुका मेडिकल अधिकृत अमुल्य कुमार पाठकले बताए ।  पालिकाले विभिन्न संघ संस्थाको सहकार्यमा गाउँ–गाउँ घरदैलोबाट क्षयरोगका विरामीहरु खोजेर उनीहरुलाई समय उपचार गरी पालिकालाई क्षयरोगमुक्त बनाउन शिविर सञ्चालन गरिएको वडा नं. ५ का वडा अध्यक्ष विष्णु कुमार पल्लीले बताए । उमेर बढ्दै गएपछि रोग प्रतिरोधात्क क्षमता कमजोर हँुदै जाने क्षयरोगका किटाणुले आक्रमण गर्ने र  ज्यान पनि जान सक्ने भएकोले शिविरको आयोजना गरिएको वडा अध्यक्ष पल्लीले बताए । क्षयरोग अन्त्य गर्ने विश्वव्यापी लक्ष्य लाई सार्थक बनाउन पूर्वखोलामा सञ्चालित यो अभियानले जनचेतना जगाउनुका साथै स्वास्थ्य पहुँचमा नयाँ आयाम थपेको छ । दुई दिनसम्म चलेको यस शिविरबाट बिरकोट र सिलुवा क्षेत्रका सयौँ नागरिक लाभान्वित भएका छन् भने फेला परेका शंकास्पद बिरामीहरूलाई गाउँपालिकाले नियमित औषधि र परामर्शको व्यवस्था गर्ने  जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update