खाडी क्षेत्रमा चर्किंदै गएको द्वन्द्वले अहिले केवल युद्धरत देशमा मात्र नभई विश्व राजनीतिक र आर्थिक अवस्थालाई गम्भीर असर पार्न थालेको छ । अमेरिका र इजरायलले इरानमाथि शुरु गरेको आक्रमणको प्रभाव अहिले नेपाल जस्ता थुप्रै राष्ट्रहरुले भोग्नु परेको छ । युद्धविराम हुनुसँगै इरानी शहरहरूमा खुशीयालीका जुलुस निस्किएका थिए । तर हर्मुजको पीडा र हिज्वुललाहको प्रश्नले पुनः युद्ध जारी हुने देखिँदैछ । अमेरिका र इजरायल मिलेर इरानविरुद्ध सैन्य कारबाही थालेपछि उक्त चालीस दिनदेखि भयानक अवस्था भइरहेको छ । यसबाट अर्बौं डलरबराबरको भौतिक क्षति हुनुका साथै ठूलो संख्यामा मानवीय क्षति भइरहेको छ । अहिले आएर ४० दिनपछि अमेरिका र इरानबीच युद्धविराम भएको घोषणा गरेलगत्तै पुनः अनिश्चयको बादल मडारिन लागेको छ । यो अस्थायी युद्धविराम मात्र थियो । यसबीचमा स्थायी रूपमा कुनै समाधान खोजिएन भने पुनः युद्ध निरन्तर हुने नै छ ।
युद्धका कारण तेल उत्पादन तथा आपूर्ति प्रभावित हुँदा कच्चा तेलको मूल्यमा तीव्र उतारचढाव देखा परेको छ । यसले विकासशील देशको अर्थतन्त्रमा दबाब बढाएको छ भने खाद्य आपूर्ति, ढुवानी लागत र मुद्रास्फीति बढ्ने संकेतसमेत देखिएको छ । यस युद्धको प्रत्यक्ष असर नेपाली नागरिकमा पनि परेको छ । मध्यपूर्वका विभिन्न देशमा करिब १७ लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन् । युद्ध चर्किंदै जाँदा उनीहरूको सुरक्षा र रोजगारीमा गम्भीर जोखिम उत्पन्न भएको छ । कम्पनीहरूले कामदारलाई स्वदेश फर्कन आग्रह गर्न थालेपछि स्थिति भयावह बन्दै गएको छ । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन र जोर्डनमा रहेका नेपालीहरू अहिले चिन्तामा परेका छन् । नेपालमा युद्धको प्रभाव सोझो नपरे पनि इन्धनमा भएको अत्यधिक मूल्यवृद्धिको प्रभाव यहाँसम्म पनि परेको छ । नेपालमा हालै सार्वजनिक यातायातमा भाडा वृद्धि भएको छ । नवनिर्वाचित वर्तमान सरकारले एकातिर भन्सार महसुल घटाएर वाहवाही पाएको केही मिनट ननाघ्दै अर्कातिर यातायातका साधनमा भाडा वृद्धि गरिएको छ । गत बुधबारदेखि युद्धविराम सुरु भएपछि तुरुन्तै तेलको मूल्यमा १५ प्रतिशतले गिरावट आइसकेको थियो । सरकारले केही दिनमात्र धैर्य गर्न सकेको भए अहिले भएको मूल्यवृद्धिको मार, यातायातमा भएको भाडा वृद्धिको मार सर्वसाधारणले व्यहोर्नुपर्ने थिएन । तर अब त युद्ध झन् अनिश्चित भएको छ र मूल्यले आकाश छुने संकेत देखिएको छ । यसर्थ यसतर्फ नेपाल सरकारले संयमित भएर नागरिकलाई राहत हुने काम गर्न जरुरी छ ।

