नेपालको अर्थतन्त्रलाई मजबुत बनाउने विषय आजको प्रमुख राष्ट्रिय बहस बनेको छ । नयाँ आर्थिक बर्षका लागि कस्तो बजेट वनाउने भन्ने बिषयमा अहिले व्यापक रुपमा चर्चा र परिचर्चा पनि शुरु भएका छन् । यसबिच राजनीतिक अस्थिरता, आयातमा अत्याधिक निर्भरता, उत्पादनमा गिरावट र वैदेशिक रोजगारीमा बढ्दो निर्भरता जस्ता समस्याले अर्थतन्त्रलाई कमजोर बनाएको छ । यस्तो अवस्थामा दीर्घकालीन सोचसहितका ठोस कदम वर्तमान सरकारले अवलम्वन गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले उत्पादनमुखी अर्थतन्त्रतर्फ ध्यान दिनुपर्छ । कृषि र उद्योगलाई आधुनिकीकरण गर्दै आत्मनिर्भरता बढाउने नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । अहिले पनि ठूलो मात्रामा खाद्यान्न आयात भइरहँदा आफ्नै उर्वर जमिन बाँझो रहनु विडम्बना हो । कृषिमा प्रविधि, सिंचाइ र बजार व्यवस्थापन सुधार गरी युवालाई यस क्षेत्रमा आकर्षित गर्न सकिन्छ ।
साना तथा मझौला उद्योगहरूको प्रवद्र्धन अत्यन्त जरुरी छ । रोजगारी सिर्जना र आय वृद्धि गर्न यी क्षेत्र महत्वपूर्ण छन् । सहुलियत ऋण, कर छुट र सरल प्रशासनिक प्रक्रिया मार्फत उद्यमशीलतालाई प्रोत्साहन दिनुपर्छ । यसले विदेश पलायन घटाउन पनि सहयोग पुर्याउँछ । सुशासन र पारदर्शिता अर्थतन्त्र सुधारका आधार हुन् । भ्रष्टाचार नियन्त्रण, सार्वजनिक खर्चमा अनुशासन र नीतिगत स्थिरता कायम भएमा लगानीकर्ताको विश्वास बढ्छ । विदेशी लगानी भित्र्याउन पनि यिनै पक्ष निर्णायक हुन्छन् । पर्यटन क्षेत्रको दिगो विकासमा ध्यान दिनुपर्छ । प्राकृतिक र सांस्कृतिक सम्पदालाई व्यवस्थित रूपमा प्रवद्र्धन गरी गुणस्तरीय सेवा उपलब्ध गराउन सकेमा यो क्षेत्र अर्थतन्त्रको बलियो आधार बन्न सक्छ । पाँचौं, वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सलाई उपभोगभन्दा उत्पादनमा लगानी गर्ने वातावरण बनाउनुपर्छ । वित्तीय साक्षरता र लगानीका अवसर विस्तारमार्फत यसलाई दीर्घकालीन आर्थिक विकाससँग जोड्न सकिन्छ । अन्ततः, शिक्षा र सीप विकासलाई श्रम बजारसँग जोड्नु आवश्यक छ । प्राविधिक शिक्षा र व्यावसायिक तालिममार्फत दक्ष जनशक्ति उत्पादन गरी देशभित्रै अवसर सिर्जना गर्नुपर्छ । यी सबै कदमहरू प्रभावकारी रूपमा कार्यान्वयन भएमा नेपालको अर्थतन्त्र बलियो, आत्मनिर्भर र दिगो दिशामा अघि बढ्न सक्छ । अब बहस होइन, कार्यान्वयनको समय आएको छ ।

