Shittalpati
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

पाल्पा, आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष १० डिसेम्बरको दिन नेपालसहित विश्वभर विश्वभर मानव अधिकार दिवस मनाउने गरिन्छ । मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरिएको यसै दिनको सम्झना स्वरूप प्रत्येक वर्ष आजको दिनलाई विश्व समुदायले महत्वपूर्ण दिवसको रूपमा मनाउँदै आएको छ ।
लम्बिदो संक्रमणकाल र राजनीतिक अस्थिरताको कारण नेपालमा मानव अधिकारको अवस्था कमजोर हुँदै गएको छ । विधिको शासनको अभावले गर्दा लामो समयअघिका पीडितले समेत न्याय पाउन सकेका छैनन् । विगत दशवर्षे सशस्त्र युद्वको समयमा ठूलो संख्यामा हत्या, हिंसा तथा अपहरण जस्ता मानव अधिकार हनन्का घटनाहरु भएका थिए । युद्वका घाउमा मल्हम लगाउने उद्देश्यले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठन गर्ने भनिए पनि गठन हुन सकेका छैनन् । द्वन्द्वको कालखण्डमा सन् २००३ र २००४ नेपाल विश्वमै सर्वाधिक नागरिक बेपत्ता पारिने मुलुक नै बन्न पुगेको थियो । मुलुक संक्रमणकालमा गुज्रिनुका साथै नयाँ संविधान जारी हुन नसक्दा मानव अधिकारको अवस्था जोखिमपूर्ण रहेको अधिकारकर्मीहरु बताउँछन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update