Shittalpati
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

पाल्पा, आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको महासभाले १९९६ देखि डिसेम्बर ७ लाई नागरिक उड्डयन दिवसको रुपमा मान्यता दिएपछि मनाउन थालिएको हो ।

नेपालमा सन् १९५७ मा नागरिक उड्डयन प्राधिकरण स्थापना भएको हो । उड्डयनको सुरक्षा, गुणस्तरीय सेवाको व्यवस्था लगायत व्यवस्थित अन्तर्राष्ट्रिय मापदण्डको हवाई क्षेत्र अनि विमानस्थलको सुरक्षा नै यसको मुख्य उद्देश्य हो । भौगोलिक अवस्था, गुणस्तरको कमी, अन्तर्राष्ट्रिय समुदायले अपनाउँदै गरेको प्रविधि अपनाउन नसक्नु अनि मानवीय त्रुटिका कारणले नेपाली आकाशमा विमान दुर्घटनाका निरन्तर समाचार आइरहन्छन् । कतिपय दुर्घटनाका कारणहरू नियन्त्रण बाहिर हुन्छ भने उड्डयनका आधार तथा नियमहरूलाई आत्मसाथ गर्न सके धेरै दुर्घटनाहरू कमी हुन सक्छ । वास्तवमा भन्ने हो भने हवाई उड्डयनले संसारलाई एकसुत्रमा बाँधिदिएको छ । एउटा कुनाबाट अर्को कुना खासै पर छैन र त्यससँगै यसका चुनौतीहरू पनि आएका छन् ।

सन् २०१४ मा मलेसियाको क्वालालम्पूर विमानस्थलबाट चीनतर्फ उडेको मलेसियन एयरलाइन्सको जहाज अझै भेटिन सकेको छैन । धेरै यात्रुवाहक विमानहरू युद्धको आवेशमा भएका प्रहारले खसालिएका छन् अनि कैयन विमानहरू अनि तिनका अवशेषहरू अझै फेला पर्न सकेका छैनन् । गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनाले नेपालीहरुमा ठूलो चोट दिएर गएको छ । हवाई सुरक्षा एउटा अत्यन्तै संवेदनशील विषय हो र यसलाई प्राथमिकतामा राख्न आवश्यक छ । अझै पनि नेपाली आकाशमा सिंगल इन्जिन सहितका जहाजहरू यात्रुसहित उडाइँदै छन् यसलाई विडम्बना नै मान्नुपर्छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update