Shittalpati
पाल्पामा शव भेटिएको एक हप्ता बित्यो, परिचय अझै खुलेन

पाल्पा, पाल्पा तिनाउ गाउँपालिका –५ चरचरेस्थित सिद्धार्थराजमार्गको छेउमा शव फेला परेको एक साता भए पनि सनाखत अझै हुन सकेको छैन । मंसिर १४ गते विहीबार दिउँसो ३:३० बजेको चरचरेस्थित सिद्धार्थराजमार्गको छेउमा शव फेला परेको थियो ।

नाम/थर, वतन नखुलेको अन्दाजी २०/२२ को पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले हालसम्म सनाखत हुन नसक्दा हुलियाको विवरण पठाएर मिडियाहरुलाई प्रचार–प्रसार गरी सहयोग गरिदिन समेत अनुरोध गरेको छ ।

उचाई ५ फिट ३ ईन्च, बायाँ हातको नाडीमा घडी र आँखाको ट्याटु भएको, शरीरमा खैरो रङको ज्याकेट (विन चिटर), हरियो रङको स्वीटर, कालो रङको ट्राउजर, कलेजी रङको टि–सर्ट, बैजनी रङको गलबन्दी र सेतो सोलमा खैरो रङको कन्भर्स जुत्ता लगाएको जस्ता विवरणले पनि पहिचान खुल्न नसके प्रहरीले जनाएको छ । शवलाई लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । ‘हामीले अनेकौं प्रयास गरेका छौं । तर शव कसको हो पहिचान हुन सकेको छैन,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठ भने । अनुसन्धान अगाडि बढाए पनि शवको पहिचान र सनाखत नभएका कारण अरु कुनै पनि विवरणहरू नखुलेको श्रेष्ठ बताए । प्रहरीले शवको पहिचानका लागि सबै प्रहरी इकाइहरूलाई पनि विवरण पठाएको छ ।

 यस्तै मंसिर १९ गते मंगलबार बिहान ९ बजेको तिनाउ गाउँपालिका –३ तल्लो सिद्धबाबा मन्दिर नजिकै सिद्धार्थ राजमार्गको कुना पट्टिको नालीमा अर्का एक जनाको पनि शव फेला परेको छ । ५०/५५ जत्तिको उमेर देखिने पुरुषको शव अझै पनि पहिचान हुन सकेको छैन् । प्रहरीका अनुसार उचाई ४ फिट ९ ईन्च, टाउको र घाँटीमा पहेलोमा रातो रंगको ओम नमः शिवाय श्रीराम लेखेको ३ वटा सल भिरेको, खैरो रंगमा कालो बुट्टे स्विटर, खैरो रंगको टिसर्ट, कालोमा सेतो धर्का भएको हाप पाईन्ट, कालो फित्तावाला चप्पल लगाएको, कालो रंगको भिर्ने र पछाडी बोक्ने २ वटा झोला बोकेको, रुद्राक्ष माला लगाएको, वर्ण गहुँ गोरो, मंगोलियन अनुहार भएको, दाह्री जुंगा पालेको जस्ता विवरणले पनि पहिचान खुल्न नसकेको प्रहरी प्रवक्ता श्रेष्ठले बताए । ति पुरुषको शवलाई पाल्पा अस्पतालको शव गृहमा राखिएको छ । उनले जानकारी दिए । ‘हामीले अधिकतम प्रयास गरे पनि दुवै शवको पहिचान खुलेको छैन । हाम्रो प्रयास जारी नै छ,’ प्रवक्ता श्रेष्ठले भने । प्रहरीले अनेक क्षेत्रमा हेर्ने बुझ्ने, सोध्ने गरेको  छ । कसैका परिवारभित्रका आफन्त, साथीभाइ, कामदार या चिने जानेका कोही सम्पर्कमा नआएको धेरै दिन भएको छ भने प्रहरीमा जानकारी दिन समेत  प्रहरीले भनेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update