Shittalpati
आज गुरु नानक जयन्ती मनाइँदै

पाल्पा, प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज सोमबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । कात्तिक पूर्णिमाकै दिन शिख धर्मका दश विशेष गुरुमध्येका प्रथम गुरु गुरु नानकको जन्म भएको हो ।

उनको विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा जन्म भएको थियो । उनले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’को रचना गरेका थिए । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत गर्ने प्रवर्तकको रुपमा उनलाई चिनिन्छ । यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्मजयन्ती मनाउने गरिन्छ । शिखको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरु नानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लर परम्परा’को थालनी गरेका थिए । निर्गुण उपासनाका पक्षपाती गुरु नानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’ भन्ने विचारमा विश्वास गर्थे । आजको दिनलाई गुरु नानक प्रकाशोत्सव र गुरुपर्व पनि भनिन्छ । संसारभरका शिख धर्मावलम्बीहरूले बडो श्रद्धाका साथ मनाउने गर्दछन् । देशका विभिन्न स्थानमा गुरुद्वारा रहेका छन् । ती सम्पूर्ण स्थानमा अनेक कार्यक्रमको आयोजना गरी गुरू नानकलाई सम्झिइने गरिन्छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update