Shittalpati
पाल्पा उद्योग वाणिज्य संघद्वारा प्रेस युनियनलाई स्वास्थ्य सामग्री हस्तान्तरण

पाल्पा, जिल्लाका उद्योगी तथा व्यवसायीहरुको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघले नेपाल प्रेस युनियन पाल्पा शाखालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । संघले प्रेस युनियनमा क्रियाशिल पत्रकारहरूलाई कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्य सामग्री प्रदान गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै आईतबार युनियनका सभापति भरत शर्मालाई संघका अध्यक्ष राजु महर्जनले मास्क र स्यानिटाइजर हस्तान्तरण गरेका थिए ।

न्युनतम स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गर्दै अध्यक्ष महर्जनले जिल्लामा बसेर विभिन्न सञ्चार माध्यममा काम गरिरहेका पत्रकारहरू रिपोर्टिङको सिलसिलामा विभिन्न स्थानमा जान पर्ने र यसले पत्रकारलाई जोखिम हुने भएकाले सामग्री प्रदान गरिएको बताए । उनले भने ‘कोरोनाको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै फिल्डको रिपोर्टिङमा खटिने पत्रकार पनि जोखिममा रहेका छन्, उनीहरुको सुरक्षाका लागि सरकार निजी क्षेत्रले पनि ध्यान दिनुपर्छ ।’ आवश्यक परे थप सामग्री उपलव्ध गराउन संघ प्रतिवद्ध रहेको संघका निर्वतमान अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए । सामग्री ग्रहण गर्दै युनियनका सभापति शर्माले पत्रकारहरु प्रति संघले देखाएको सद्भाव र सहयोगको प्रशंसा गर्दै धन्यवाद दिए । उनले पत्रकार र निजी क्षेत्रको सम्बन्ध सुमधुर हुनेमा विश्वास व्यक्त गरे ।

सोही अवसरमा सरकारले कोरोना नियन्त्रणका लागि जारी राखेको लकडाउनका कारण समस्यामा परेका मजदुर र विपन्न वर्गका नागरिकहरुका लागि जिल्लामा वितरण गरिदै आएको राहतमा केही स्थानीय तहहरुले भेदभाव गरेको भन्दै त्यस तर्फ ध्यान दिन पत्रकारहरुलाई संघका वाणिज्य उपाध्यक्ष यादव सिं कार्कीले आग्रह गरेका छन् । संघले दिएको सामग्री युनियनका सभापति शर्माले उपस्थित पत्रकारहरूलाई सोही समयमा प्रदान गरेका थिए । कार्यक्रममा युनियन शाखाका उपसभापतिद्धय पुस्करराज रेग्मी, मन गहिरे, युनियनका केन्द्रिय सदस्य माधव अर्याल, शाखाका सल्लाहकारहरु झपेन्द्र गहिरे, जगदीश भट्टराई लगायतका पत्रकारहरुको उपस्थिती रहेको थियो । संघले जिल्लाका सुरक्षा निकायहरुलाई पनि स्वास्थ्य सामग्री वितरण गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update