Shittalpati
तिनाउ कचलका पहिरो पीडितलाई काँग्रेसको सहयोग

पाल्पा, नेपाली काँग्रेस तिनाउ गाउँपालिका पाल्पाले पहिरो पीडित परिवारलाई राहत सहयोग गरेको छ । काँग्रेसले गत साउनमा अविरल वर्षाका कारण गएको पहिरोले घर खेतमा क्षति पुर्‍याएका  तिनाउ गाउँपालिका– १ कचलका परिवारलाई आवश्यक राहत सामग्री सहयोग गरेको हो ।

पार्टीका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, काँग्रेस तिनाउ गाउँपालिकाका सभापति प्रेम पाण्डे लगायतको टोलीले घरमै पुगेर यहाँका ५ घर परिवारलाई चामल, नुन तेल र सुत्ने, ओढ्ने लत्ताकपडा सहयोग गरेको छ । राहत सामग्री वितरण गर्दै नेपाली काँग्रेस जिल्ला सभापति श्रेष्ठले दुखको बेलामा केही भए पनि राहत दिलाउन काँग्रेस पिडितको घरमा आएको बताए । उनले प्राकृतिक विपत्तिमा परेका जनताहरुसँगै नेपाली काँग्रेस पनि सँगै रहेकाले दुखमा नआत्तिन पहिरो पीडितहरुलाई सान्त्वना दिएका छन् । काँग्रेसले सुरक्षित आवासका लागि सम्बन्धित निकायसँग समन्वय गरिदिने समेत सभापति श्रेष्ठले बताए । उनले केही दिन अघि जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरुका काँग्रेसले एकद्वार प्रणालीको माध्यमबाट ५० लाख राहत कोषमा रकम जम्मा गरेको र अहिले काँग्रेस नेता प्रदिप पौडेलको नेतृत्वमा एक हजार अस्थायी टहरा निर्माणमा जुटेको समेत बताए । अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले कचलका दिलबहादुर बगाले, भिमबहादुर उचाइँ, दिलबहादुर बगाले, पूर्णबहादुर सोमै, रामबहादुर अर्घाली र चन्द्रबहादुर गाहाको घर र खेतबारीमा ठूलो क्षति पुगेको थियो ।. 

राहत वितरण कार्यक्रममा तिनाउ गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापा, तिनाउ– १ का वडा अध्यक्ष भुवन सिंह चिदी, काँग्रेसका जिल्ला सदस्य माधव पाण्डे, प्रदेश सदस्य सुरेश पौडेल, काँग्रेस युवा नेता किशोर पंगेनी, नेपाली काँग्रेस क्षेत्र नं २ प्रदेश क (ख) का सचिव पदम लाल शाक्य, नेपाली काँग्रेस तिनाउ –१ का वडा सभापति हस्तबहादुर रास्कोटी, तिनाउ– २ का वडा सभापति दुर्गा बहादुर थापा, तिनाउ– ३ का वडा सभापति निर्मल बस्याल, तिनाउ– ४ का वडा सभापति देवसिं दर्लामी, तिनाउ– ५ का वडा सभापति यम बहादुर रास्कोटी, नेपाल शिक्षक संघका भेषराज पोखरेल, काँग्रेस नेता शिव पाण्डे लगाएतको उपस्थिति रहेको थियो । काँग्रेस पालिका सभापति प्रेम पाण्डेको अध्यक्षता, जिल्ला सदस्य बिष्णु पाण्डेको सञ्चालनमा राहत वितरण कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update