Shittalpati
रेसुङ्गा विमानस्थलमा ओर्लिएका चन्द्र भण्डारी जन्मभूमिलाई ढोग्दै भावुक बने (हेर्नुहोस् भिडियो सहित)

गुल्मी (तम्घास), नेपाली काँग्रेसका सांसद एवं प्रभावशाली नेता डा.चन्द्र भण्डारी झण्डै एक बर्षको उपचारपछि गृह जिल्ला गुल्मी फर्केका छन् । उनलाई स्वागत गर्न गुल्मीका नेताहरु  शुक्रबार रेसुङ्गा विमानस्थल पुगे । विमानस्थल ओर्लिएका सांसद भण्डारी जन्मभूमिलाई ढोग्दै भावुक बने । उनी आफु मात्र भावुक बनेनन्, स्वागतका लागि पुग्ने सबैलाई भावुक बनाए । भण्डारीले भावुक हुँदै भने‘ जन्म दिने आमा गुमाए, आमाको बैकुण्ठवासको कामना सहित मातृभूमिलाई प्रणाम गर्दछु ।’ उनी भावुक हुँदै पटक–पटक जमिन छोएर ढोग्दै गर्दा उपस्थित भिड समेत भावुक देखियो ।

जलनको घटनामा परी आमा गुमाएको पीडा र आफु उपचारपछि बाँच्न सफल भएपछि नेपाली काँग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनमा सहभागी हुन पहिलो पटक गुल्मी आईपुग्दा काँग्रेसका दर्जनौ नेता तथा कार्यकर्ता उनको स्वागतका लागि विमानस्थल पुगेका थिए । विमानस्थल ओर्लिएका काँग्रेस केन्द्रीय सदस्य समेत रहेका भण्डारीले भने ‘मेरो घटनापछि हामीले आमा गुमायौं, जिल्लावासी र संसारका सबै शुभेच्छुकहरुको प्रार्थनालाई भगवानले सुनेका कारण आज उपचारपछि झण्डै एक बर्षमा पहिलो पटक गृह जिल्ला फर्केर आउँन सके, म अत्यन्तै भावुक भएको छु ।’ डा. भण्डारी फागुन ३ गते निवासमा ग्यास लिक भएर आगलागी हुँदा  जलेका थिए । सो घटनामा जलेकी उनकी आमाको फागुन ४ गते बिहान निधन भएको थियो । भण्डारीको भारतमा सफल उपचारपछि केही समय अघि नेपाल फर्किएका थिए । रेसुङ्गा विमानस्थलमा नेता कार्यकर्तालाई भेटेर उनले नेपालको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आर्थिक अनियमितता नरोक्दासम्म दीगो विकास सम्भव नहुने समेत बताए ।

नेपाली काँग्रेस गुल्मीका सभापति एवं रेसुंगा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीको नेतृत्वमा भण्डारीलाई स्वागत गर्न विमानस्थल पुगेका सयौ नेता तथा कार्यकर्ताहरु समेत भावुक बने ।  डा.भण्डारीलाई नेताहरुले लगाई दिएका फुलका माला उनी आफैले जिल्लाका नेताहरुलाई लगाइदिदै तपाई सबैको प्रार्थना र आर्शिवादले म बाच्न सफल भएको हुँ भन्दा धेरैका आँखा रसाए । उनको गुल्मेली जनताप्रतिको सद्भाव र भावुकताप्रति केही छिन विमानस्थलको वातावरण नै भावुक  बन्यो । त्यहाँ पुग्ने कोई रोए, कोईले तस्वीर खिचाए ।  

डा.भण्डारीलाई स्वागत गर्न विमानस्थल पुगेका नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा गुल्मीका पुर्व सभापति भुवनप्रसाद श्रेष्ठले भावुक हुँदै भने ‘यहाँको अवस्था हेर्दा बनवास सकेर १४ बर्ष पछि अयोध्या फर्किदै गर्दा, अयोध्यावासी खुसी भए जस्तै हामी सबै खुसीले भावुक भएका छौं ।’ नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले सांसद भण्डारीको उपचारपछि जिल्ला फर्केर आउँदा गुल्मेली जनतामा खुसी छाएको बताए । सांसद भण्डारीको गाउँ हुंगा निवासी गुल्मी काँग्रेसका उपसभापति अनन्तराम पौड्यालले नेता भण्डारीको आगमनले गुल्मेली जनतामा एक किसिमको उत्साह र उर्जा थपेको धारणा व्यक्त गरे । अर्का उपसभापति शिववहादुर केसीले शनिवारदेखि शुरु हुने जिल्ल्ला सम्मेलनमा सांसद भण्डारीको सहभागिताले शोभा बढाउने आशा गरिएको बताए । भण्डारी भोलीदेखि हुने गुल्मी सम्मेलनमा भाग लिन गुल्मी आएका हुन् ।

 सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको काँग्रेस जिल्ला सचिव भगत सिं खड्काले बताए । सम्मेलनले गुल्मी काँग्रेसलाई नयाँ उर्जाका साथ अगाडि बढाउन महत्वपुर्ण भूमिका खेल्नेमा उनले विश्वास व्यक्त गरे । अर्का सचिव जगदीश भट्टराईले डा.भण्डारी र पार्टीका महामन्त्रीहरुको उपस्थितिले संगठनका हरेक गतिविधी चुस्त भएर अगाडि बढ्नेमा विश्वास गरिएको बताए । सम्मेलनलाई भव्य र सभ्य बनाउन पार्टीका हरेक तहका संरचनाहरुलाई व्यवस्थित बनाइएको पार्टी सह–सचिव छवि पाण्डेले बताए । भोली गाउँ–गाउँ, टोल–टोलबाट आमनागरिकको व्यापक सहभागिता रहने भएकाले व्यवस्थापन पक्षलाई चुस्त बनाइएको अर्का सह–सचिव  धर्मा पाण्डेले जानकारी दिए । कार्यक्रमका लागि आवश्यक पर्ने आर्थिक पक्षलाई थप पादर्शी र व्यवस्थित बनाउने काम भएको कोषाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले बताए ।  जिल्ला सम्मेलन मंसिर ९ र १० गते तम्घासको चिदीचौरमा हुँदै छ । सम्मेलनका लागि काँग्रेस सभापति शेरबहादुर देउवासहित  वरिष्ठ नेता शेखर कोइराला,महामन्त्रीद्धय गगन थापा, विश्वप्रकाश शर्मा, गुल्मेली नेता चन्द्र केसी लगायतका नेता पनि आउने काँग्रेस गुल्मी सचिवालयले जनाएको छ ।

भिडियो 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update