Shittalpati
तुलसीको विवाह गरी मनाइयो हरिबोधनी एकादशी

पाल्पा, तुलसीको विवाह गरी हरिबोधिनी एकादशी मनाइएको छ । बिहीबार घर–घरमा रहको तुलसीको दामोदर ‘विष्णु’ सँग विवाह गरी हरिबोधिनी एकादशी मनाइएको हो । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतिकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउने गरिन्छ । घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर विवाह गरिएको छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठनजिकै विष्णुको प्रतिकका रूपमा निगालाको लिंग गाडेर विधिपूर्वक पूजा गरिन्छ । एकादशीका दिन बिहानैदेखि पवित्र कालीगण्डकी नदी किनारमा भक्तजनको घुइँचो लागेको थियो । गुल्मी र पाल्पाको संगमस्थल रिडीदेखि स्याङ्जा र पाल्पाको संगमस्थल राम्दीसम्मको कालीगण्डकी किनारमा स्नान गर्ने, तोरण तार्ने र मेला भर्नेको घुइँचो लागेको हो । हरेक वर्ष पवित्र कालीगण्डकी किनारमा स्नान गर्ने, तोरण तार्ने र मेला भर्नेको घुइँचो लाग्ने गर्दछ । कालीगण्डकी नदीको तटमा नुहाउन, तोरण तार्न हजारौं भक्तजन टाढाबाट समेत पुग्ने गर्दछन् ।

मुक्तिनाथबाट बगेर आएको कालीगण्डकी नदीमा स्नान गर्ने, पूजा गर्ने र तोरण तार्ने गर्दा धर्म हुन्छ भन्ने जनविश्वास यस क्षेत्रमा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ । जागा हुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नदी किनार र देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो । राम्दी र रिडीमा  टाढा टाढाबाट पनि भक्तजन सवारी साधन रिजर्भ गरेर दर्शन गर्न पुगेका थिए । नदी र मन्दिरमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । यस वर्ष एकादशीको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाको मुख्य आयोजनामा राम्दीमा एकादशी मेला समेत लागेकाले दर्शानार्थीहरुको उल्लेखीय सहभागिता रहेको थियो । प्रतिष्ठानले कला, संस्कृतिको संरक्षणसँगै राम्दीधामको धार्मिक तथा पर्यटकीय विकासमा टेवा पु¥याउने उद्देश्यले एक दिने मेला आयोजना गरेको हो । नदीमा स्नान गरी भक्तजनहरु मेला हेर्न पुगेका थिए । यस दिन बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बसेका थिए । चामलबाट बनेका परिकार नखाई फलाहार मात्र खाइ उनीहरु व्रत बसेका हुन् ।

कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थसमान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update