पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका –६ स्थित डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेडले साधारण सभा तथा अधिवेशन गरेको छ । सहकारीले एक औपचारिक कार्यक्रमका बिच ३३ औं साधारण सभा तथा १० औं अधिवेशन गरेको हो ।
सभाको प्रमुख अतिथि तथा वडा अध्यक्ष टोम बहादुर पुनले उद्घाटन गरेका हुुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि पुनले डुम्रे दुग्ध सहकारी लुम्बिनी प्रदेशकै नमुना उत्कृष्ट सहकारी भएको बताए । संस्थाले कृषकको हितमा काम गर्दै आएको स्थानीयस्तरमा स्वरोगार तथा कृषकको आय आर्जन बृद्धि गराउन सफल भएको उनको भनाई छ । सभामा सहकारीका अध्यक्ष दुर्गा बहादुर खाँण ठकुरीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा १ हजार कृषक आवद्ध भएकोमा १८३ जना महिला, २३८ जना पुरुष गरी ४ सय ३२ जना शेयर सदस्य रहेको बताए । संस्थाले गत बर्ष १४ लाख ८२ हजार ४ सय १२ लिटर दुधको कारोवार गरेको उनको भनाई छ । संस्थाले गाई भैसी सुत्केरी पोषणभत्ता वापत प्रति पशु १ हजार २ सय , कृषकहरुको लागि पशु विमामा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको ठकुरीले बताए । संस्थाले मुख्य कार्यालय डुम्रे, तानसेन बसपार्क, मिसन, बुटवल चौराहामा दुध डेरी पसल, डुम्रेमा एग्रोभेट पसल र फलफूल पसल, फ्रेस हाउस मार्फत आफ्ना उत्पदान विक्रि वितरण गर्दै आएको छ । कृषकहरुको अनुत्पादक गाईहरु कोटिखोला गौशालासँग सम्झौता गरी व्यवस्थापन गर्दै आएको, संस्थाले कृषकहरुलाई गाईको दुधको भुक्तानी एक महिनाको अन्तरालमा, भैसीको दुधको मासिक रुपमा भुक्तानी गर्दै आएको जनाएको छ ।
दैनिक ३५ लिटर सम्म दुध दिने कोरियन गाईको नश्ल सुधार मार्फत ११ वटा बाच्छीको जन्म भएको, कृषकको मागको आधारमा घाँसको विउमा ७५ प्रतिशत सम्म अनुदानको व्यवस्था गरेको जनाइएको छ । संस्थाबाट उत्पादित घिउ, मही, दहीकप खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट गुणस्तरीय चिन्ह पाई देश विदेशमा विक्रि हुदै आएको, प्रत्येक बर्ष संस्थाले नाफा बृद्धि गर्दै गरी कृषक शेयर सदस्यहरुलाई उच्चतम नाफा वितरण गर्दै आएको संस्थाका व्यवस्थापक गोपाल जिसीले बताए । संस्थाले गत आ.व.मात्र २३ लाख कृषकहरुलाई बोनस वितरण गरेको छ । संस्थाले साधारणसभामा ३५ जना शेयर सदस्यलाई १ लाख ९३ हजार ६ सय २३ रुपैया देखी २० हजार रुपैया सम्म वोनस वितरण गरेको व्यबस्थापन जिसीले बताए ।
साधारणसभामा सबैभन्दा बढी वोनस तिनाउ ६ बगैचावारीकी सरस्वती जिसीले १ लाख ९३ हजार ६ सय २३ रुपैया पाएकी छन् । अध्यक्ष खाण ठकुरीले चालु आर्थिक बर्षको लागी नियमिततर्फ १५ बुँदे, भौतिक संरचना तथा पूर्वाधार विकास तर्फ १४ बुँदे, उत्पादन तथा कृषकतर्फ १२ बुँदे, उद्योग तथा विविधिकरण तर्फ ७ बँुदे, शिक्षा तालिम सञ्चार र रोजगारीतर्फ १७ बुँदे, बिमातर्फ ८ बुँदे, सञ्चालक समितिको विशेष अधिकारतर्फ १० बँुदे र विशेष कार्यक्रमतर्फ १५ बुँदे नीति तथा कार्यक्रम पेश गरी साधारणसभाले पारित गरेको छ । कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक धन बहादुर कार्कीले संस्थाको वित्तिय विवरण प्रस्तुत गर्दै ४९ करोड २१ लाख ८६ हजार ७ सय ३३ रुपैया बराबरको बार्षिक कारोवार, संस्थागत पँुजी ७ करोड २० लाख ३६ हजार १ , जगेडाकोषमा ८१ लाख १२ हजार ३ सय ५५ , अन्य कोषमा ११ लाख ८१ हजार २ सय ८ , ८७ लाख १३ हजार ८ सय शेयर पँुजी र १ करोड २ लाख ३७ हजार ७ सय ७१ कुल निक्षेप, ५१ लाख ८४ हजार १ सय ९८ ऋण लगानी, संस्थाको ऋण १ करोड ५७ लाख ६५ हजार ६ य ९२, भुक्तानी दिनुपर्ने २ करोड ३६ लाख ८५ हजार २ सय ५६, पाउनु पर्ने रकम ३ करोड ६० लाख २ हजार ४ सय ७९, स्टक मौज्दात १७ लाख ५९ हजार ६ सय ८७ र नाफा १० लाख ४२ हजार १८८ रहेको जानकारी दिए । कार्यक्रममा संस्थाकी कोषाध्यक्ष हुमा सरा·कोटीले आर्थिक प्रतिवेदन पेश गरेकी थिईन् । जिल्ला दुग्ध सहकारी संस्थाका अध्यक्ष रामजी प्रसाद घिमिरे लगायतले संस्थाले कृषक प्रति गरेको लगानीको बारेमा चर्चा गरेका थिए । संस्थाका अध्यक्ष दुर्गा बहादुर खाँण ठकरीको अध्यक्षता, उपाध्यक्ष शंकर प्रसाद भण्डारीको स्वागतमा भएको कार्यक्रमको सञ्चालन व्यवस्थापक गोपाल बहादुर जिसीले गरेका थिए ।
अध्यक्षमा पुनः ठकुरी
अधिवेशनले संस्थाको अध्यक्षमा पुनः दुर्गा बहादुर खाण ठकुरीलाई चयन गरेको छ । जसको उपाध्यक्षमा शान्ता खड्का, सचिवमा गोपाल प्रसाद भण्डारी, कोषाध्यक्षमा हुमा सरा·कोटी, सदस्यमा प्रेम नारायण भण्डारी, सुनिता विष्ट, पुष्पादेवी राना, मञ्जु घर्ती, विष्णु कुमारी दिश्वा चयन भएका छन् । यसै गरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा धन बहादुर कार्की, सदस्यमा तारा प्रसाद भण्डारी र रिता कार्की चयन भएको निर्वाचन अधिकृत घनश्याम ढकालले बताए । नवनिर्वाचित अध्यक्ष खाँण ठकुरीले कृषक, सहकारीको हितमा केन्द्रित रहेर काम गर्ने प्रतिवद्धता जनाए ।


