Shittalpati
आज विश्व शौचालय दिवस मनाइदैं

पाल्पा, आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ । विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्‍याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो । यस वर्ष दिवसको नारा ‘परिवर्तनलाई बढावा दिऔं’ भन्ने रहेको छ । संयुक्त राष्ट्र संघले सन् २०१३ देखि औपचारिक रुपमा १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको मनाउन थालेको हो । 

राष्ट्र संघको महासभामा सिंगापुरले यो प्रस्ताव पेश गरेको थियो । त्यसयता राष्ट्र संघको यूएन वाटर भन्ने निकायले यस दिवस मनाउने कार्यको संयोजन गर्दै आएको छ । नेपाल १३ असोज २०७६ मा नै खुला दिसामुक्त भैए पनि व्यवस्थित शौचालय नहुँदा सर्वसाधारणले अझै पनि समस्या भोग्नुपरेको छ । खुला दिसामुक्त घोषण भए पनि कार्यान्वयमा यो लागू हुन सकेको छैन । मानव जीवनशैली र सरसफाइका लागि शौचालय आधारभूत तत्व हो । निजीका साथसाथै सार्वजनिक शौचालय हुनु व्यवस्थित सहरको उदाहरण पनि हो । सामान्यतया शौचालयलाई फोहोर ठाउँ भन्ने गरिन्छ । तर, शौचालय हामीलाई सफा र सुरक्षित राख्ने सहयोगी हो भनेर स्पष्ट पार्न जरुरी छ । 

सफा शौचालयको सहि प्रयोग सभ्य समाजको अभिन्न अंग मानिन्छ । तीब्र शहरीकरण र बढ्दो जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढ्दो छ । शहरी तथा राजमार्गका व्यस्त चोकहरूमा भएका सार्वजनिक शौचालय पनि सरसफाइ एवं पूर्वाधारजन्य हिसाबले नाजुक अवस्थामा छन् । सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा लाखौंको मृत्यु हुने गरेको छ । खुला स्थानमा दिसापिसाब गर्नाले यसले खानेपानीका स्रोत, मुहान, खोला, नाला, नदी प्रदूषित गराउने र त्यसबाट हैजा, टाइफाइड, झाडापखाला जस्ता रोग फैलिन गई आम नागरिकको स्वास्थ्यलाई असर पार्ने भएकाले शौचालय निर्माण र उपयोगमा ध्यान दिनुपर्नेमा दिवसले जोड दिने गरेको पनि त्यसले सार्थकता भने पाउन सकेको देखिदैन् । 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update