Shittalpati
आजदेखि तिहार सुरु, पहिलो दिन काग तिहार मनाइँदै

पाल्पा, कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ ।

वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ । आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको  छ ।  नेपालीहरुको घर आगनमा तिहार भित्रिएसँगै गाउँ,घर, शहर बजार झिलिमिली भएका छन् । सबैका घर आगन रंगिबिरंगी बत्तीले झिलिमिली भएका छन् । शनिबारदेखि तानसेनका अधिकांश घरहरु झिलिमिली भएका हुन् ।  तिहारको दोस्रो दिन कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।  तेस्रो दिन लक्ष्मीपूजा, चौंथौ दिन गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३७, र म्हपूजा अर्थात् आत्मपूजा एवम् तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ ।

बलि राजाको पूजाका सम्बन्धमा एउटा किम्बदन्ती पनि प्रचलित रहेको छ । जसअनुसार प्राचीन वैदिक कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे, उनी दानी राजाका रुपमा कहलिएका थिए । भगवान् विष्णुले वामन अवतार धारण गरी बलि राजासँग ब्राह्मणको भेष धारण गरी तीन पाउको स्थान माग गर्दा एक पाउले अन्तरिक्ष, अर्को पाउले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेको र शिरमाथि वामन रुप धारी भगवान विष्णुले पाउ राख्दा पातालमा भासिएको कथा पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णु बलि राजाको दानशीलतादेखि प्रभावित भई वर्षमा पाँच दिन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वास छ । यस समयमा बलि राजाको पूजा गरेमा भगवान् विष्णुले आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पूजा गर्ने गरिएको हो । यही मान्यताका कारण आजकाल पनि देउसी भैलो खेल्दा ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भनी भट्याउने गर्छन् । लक्ष्मी पूजाका दिनमा भैलो र गोवद्र्धन पूजाका दिनमा देउसी खेल्ने प्राचीन परम्परा भए पनि आजकाल काग तिहारकै दिनदेखि नै देउसी भैलो खेल्ने प्रचलन बढ्न थालेको छ । भैलो महिलाले र देउसी पुरुषले खेल्ने प्रचलनसमेत अहिले बदलिएको छ । अहिले महिला पुरुष दुवैले देउसी भैलो खेल्न थालेका छन् ।

लक्ष्मीपूजाका दिनदेखि घर घरमा दीपावली गरी झिलीमिली बनाउने परम्परा पनि अहिले तिहारको शुरुवातदेखि नै गर्न थालिएको छ । अझ कतिले त एक हप्ता अघिदेखि नै दीपावली गरी तिहारलाई अग्रिम आमन्त्रण गर्ने गरेका छन् । यसकारण तिहारलाई उज्यालोको पर्वका रुपमा समेत चिनिन्छ । पछिल्लो समयमा तिहारको विकृतिका रुपमा पटाका पड्काउने प्रचलनसमेत बढ्न थालेको छ । जसका कारण पटाकाबाट दुर्घटनासमेत बढ्न थालेको छ । प्राकृतिक रुपमा पनि सयपत्री, मखमली र गोदावरी जस्ता फूल फुल्ने समयमा तिहार पर्व पर्ने भएकाले वातावरण हेर्दै तिहार आएजस्तो अनुभव हुन्छ । उस वर्षका भाइटिका कार्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा साईत रहेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update