Shittalpati
आज विश्व रेडियोग्राफी दिवस मनाइँदै

पाल्पा, आज विश्व रेडियोग्राफी दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्वर ८ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुरुप आज विश्वभर नै यो दिवस मनाउन लागिएको हो ।

सन् १८९५ नोभेम्बर ८ मा जर्मन मेकानिकल इन्जिनियर विलहेल्म रोइन्टगेनले रेडियोग्राफीको आविष्कार गरेका थिए । उनै वैज्ञानिकले गरेको विकिरण एक्स–रेको आविष्कारप्रति सम्मान दिन यो दिवस मनाइन्छ । सर्वप्रथम सन् २०१२ मा रेडियोलोजीको अन्तर्राष्ट्रिय दिवस मनाइएको थियो । युरोपियन सोसाइटी अफ रेडियोलोजी, उत्तरी अमेरिकाको रेडियोलोजिकल सोसाइटी, अमेरिकन कलेज अफ रेडियोलोजीको पहलमा विश्व रेडियोलोजी दिवस मनाउन सुरु गरिएको हो ।

रेडियोग्राफी एक्सरेको माध्यमले बिरामीलाई निदानात्मक सेवा दिने एक पद्धति हो । सामान्य भाषामा रेडियोग्राफीलाई एक्सरे वा विकिरण भनेर बुझ्न सकिन्छ । आधुनिक सरल चिकित्सा प्रणालीमा यसको ठूलो महत्व छ । विश्वभरि रेडियोग्राफी अनि रेडिएशन थेरापीबारे जानकारी र चेतना फैलाउने दिनको रुपमा आजको दिनलाई लिने गरिन्छ । रेडियोग्राफीको माध्यमले शरीरभित्रका हड्डी, क्याभिटी र कुनै बाहिरी पदार्थ भए÷नभएको पत्ता लगाउन सकिन्छ । सामान्यतया, एक्सरे दुई किसिमले गरिन्छ । कम्प्लिकेट रेडियोग्राफी र डाइरेक्ट रेडियोग्राफी । डाइरेक्ट रेडियोग्राफी सजिलो पद्धति हो । जसबाट बिरामीको रिर्पोट चाँडो निस्कनुका साथै शरीरका अंगको तस्बिरसमेत स्पष्ट देखिने गरी निस्कन्छ । जो सबैभन्दा बढी प्रयोग हुने एक्सरे पद्धति पनि हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update