Shittalpati
पाल्पाका क्वारेन्टाइनमा १ सय ६४ जना नागरिक

कृष्ण पोखरेल

पाल्पा । जिल्लाका स्थानीय तहहरुमा बाहिरबाट आउनेहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने गरेको पाइएको छ । कोरोना भाइसरको सन्त्रासका कारण बाहिरबाट घर आएका १ सय ६४ जनालाई जिल्लाको स्थानीय सरकारहरुले आ–आफ्नो पालिकाको क्वारेन्टाइनमा राखेको पाइएको हो । स्थानीय तहहरुले बाहिरी जिल्लाबाट घर फर्किदा आफ्नो परिवार तथा समाजमा कोरोना सक्रमणको जोखिम नहोस् भनी अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने व्यबस्था गरेका हुन ।

जिल्लामा पहिलो चरणमा भारत तथा विदेशबाट आउने ६० जनालाई १४ दिन क्वारेन्टाइन पछी आरडिटी चेकजाँच गरी गृह प्रवेशको लागि अनुमती दिइएको थियो । बाहिरी जिल्लाबाट फर्किएका व्यक्ति तथा पाहुना हुन आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा बसेको १४ दिन पछी ¥यापिड टेष्ट गरेर मात्र रिपोर्टको आधारमा उनीहरुलाई गृह प्रवेश दिने निर्यण गरेको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए । घर फर्किने क्रममा विभिन्न व्यक्तिहरुको हुलमेलमा कोरोना सक्रमण हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले पालीकाको नाका नाकामा चेकजाँच बढाउन जिल्लाका १० वटै स्थानीय सरकारलाई आग्रह गरेको छ ।

जिल्लामा सबैभन्दा बढी निस्दी गाउँपालिकामा ५४ जना, रामपुर नगरपालिकामामा ३५ जना, पुर्वखोला गाउँपालिकामा २७ जना, रैनादेवी छहरा गाउँपालिकामा २५ जना, तिनाउँ गाउँपालिकामा ३ जना, माथागढी गाउँपालिकामा ९ जना र तानसेनमा १ जना गरी १ सय ६४ जना क्वारेन्टाइनमा बसेका छन् ।  क्वारेन्टाइनमा बसेका सबै व्यक्तिहरुलाई आ–आफ्नो स्थानीय सरकारले दैनिक खाना तथा स्वास्थ्य परीक्षण गर्दै आएका छन् । हामीले पहिले भारत तथा अन्य विदेशी मुलुकबाट आएका व्यक्तिलाई मात्र क्वारेन्टाइनमा राखेका थियौ तर काठमाडौ लगायत ठूला ठूला शहरबाट समेत पालिका भित्र अत्याधिक मानिसहरु भित्रिन थालेपछि जिल्ला बाहिरबाट आउने व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले बताए ।

संकटको बेला घर आउनेलाई रोक्न सकिने रहेनछ, गाउँ ठाउँमा कोरोनाको सक्रमण नफैलियोस् भनी पालिकाले वडा वडामा निर्माण गरेको क्वारेन्टाइनमा राखिएको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बताए । क्वारेन्टाइनमा बसेका सबै व्यक्तिहरुको आरडिटी टेष्ट गरेपछि रिपोर्टको आधारमा घर फर्किन दिने तथा नदिने निर्णय गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपानेले बताए । जिल्लामा अहिले सम्म ६९ जनाको आरडिटी र १४ जनाको स्वाब परिक्षण गरिएको र सबैको रिपोर्ट नेजेटिभ आएको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update