Shittalpati
पर्यटन क्षेत्रतर्फ पनि ध्यान देऊ

कोरोना भाइरसको महामारीले सामान्य जनजीवनदेखि पर्यटक आगमनमा प्रत्यक्ष प्रभाव पारेको छ । खासगरी पर्यटन आगमन हुन नसक्दा होटललगायत पर्यटन क्षेत्रका अन्य व्यवसायलाई धक्का लागेको छ । अहिले धेरै बैंकहरूले होटलमा लगानी गरेका छन् । होटलमा आम्दानी घटेपछि बैंकहरूको ऋण लगानीको किस्ता उठ्न पनि समस्या उत्पन्न भएको छ । नेपालले पर्यटनबाट सर्वाधिक आम्दानी गर्ने स्रोत चीन हो । चीनबाट नेपाल आउने र नेपालबाट चीन जाने हवाई उडान ठप्प छन् । त्यसो हुँदा चिनियाँ पर्यटक रोकिएसँगै ट्राभल कम्पनी, आन्तरिक विमान सेवा, पर्यटक बस आदिको पनि आम्दानी पनि ठप्प छ ।

चीनमा नोवेल कोरोना भाइरसले महामारीको रुप लिएसँगै चिनियाँ पर्यटकहरु आउन छाडेका छन् । चीन–नेपाल उडान भर्ने सबै उडान बन्द भएका छन् । होटल, लज तथा रेष्टुरेन्टको व्यवसाय पनि बन्द छन् । कोरोना महामारीका कारण सरकारले नेपाल भ्रमण वर्ष, २०२० स्थगित गरेको छ । नेपालको पर्यटन उद्योग जोखिममा परेको छ । महिना दिनको लकडाउनका कारण व्यवसाय नै डुब्ने जोखिम बढेपछि व्यवसायीहरू कामदार कटौती वा प्रतिष्ठानै बन्द गर्नेजस्ता विकल्पमा पुग्न थालिसकेका छन् । सरकार भ्रमण वर्ष स्थगित गरेपछि काम सकियो भनेर पन्छने र अहिलेको अवस्था केही महिना लम्बिने हो भने धेरै होटल र रिसोर्टहरू विशेषगरी विदेशी पर्यटकलाई लक्षित गरेर बनाइएका संरचना सञ्चालन गर्न मुस्किल हुने छ ।

यस्ता प्रतिष्ठान बन्द भए भने त्यसको नकारात्मक असर व्यवसायी र कामदारमाथि मात्र हैन बैंकिङ क्षेत्र र अर्थतन्त्रमा समेत पर्छ । देशको अर्थतन्त्र एकपटक ओरालो चक्रमा फसेपछि रोक्न र उकालो लगाउन निकै कठिन हुनेछ । यसैले नेपाली अर्थतन्त्रका देखिएका समस्याहरुको सबलीकरण गर्न बेलैमा सम्बन्धित सबैको ध्यान जानुपर्ने देखिन्छ । सरकारले यही मौकामा भौतिक पूर्वाधारमा ध्यान दिनुपर्छ । विशेषगरी सडक निर्माण र सञ्चार सुविधाको विस्तारको काम यति बेला गर्न सके भ्रमण वर्ष, २०२२ को तयारी गर्न सहज हुनेछ । गर्मी सुरु भएपछि कोरोनाको कहर कमजोर हुने विश्वास गरिएको छ । त्यस अवस्थामा बाह्य पर्यटकलाई आकर्षित गर्ने प्याकेज तयारी गर्न सके पर्यटन क्षेत्रलाई कायम राख्न सकिन्छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update