Shittalpati
प्रतिपक्षको पनि कुरा सुन

संसदीय लोकतान्त्रिक शासन पद्दतिमा सरकारका गलत काम कारबाहीलाई रोक्न प्रतिपक्षको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । संसदीय व्यवस्थामा सत्तापक्षका साथै प्रतिपक्षको पनि उत्तिकै भूमिका हुने गर्छ । सत्ता सरकारको हुन्छ भने संसद् प्रतिपक्षको । सरकारले सत्ता र शक्तिको आडमा गलत कामकारबाही गर्ला कि भनी खबरदारी गर्ने काम प्रतिपक्षको हुन्छ । सरकारलाई प्रतिपक्षको साथ–सहयोगबाटै राष्ट्रिय हितका पक्षमा ऐतिहासिक कामहरू हुन सक्छन् । तर ओली सरकार बनेयता संसद्मा राष्ट्रिय मुद्दा र जनअधिकारका विषयमा कहिल्यै व्यापक छलफल हुन सकेको छैन । प्रतिपक्षको भूमिका कमजोर भयो भने जनताको आवाज स्वतः कमजोर हुन्छ ।

त्यसैले सरकारका अनुत्तरदायी र अलोकतान्त्रिक गतिविधि रोक्न र उसलाई सही मार्गमा हिँडाउन प्रतिपक्ष नेपाली काँग्रेसले सशक्त भूमिका निर्वाह गरेको छ । तर सरकार पक्षले भने प्रतिपक्षको कुरा नै नसुनी एकहोरो आफ्नै निर्णयलाई अगाडि बढाएको छ । अहिले देश कोरोनाको महामारीसँग लडिरहेको छ । प्रतिपक्ष दल नेपाली काँग्रेसले पनि यो समयमा सरकारलाई महामारी नियन्त्रण तथा रोकथामका लागि भरपुर सहयोग गरेको अवस्था छ । तर सरकारले प्रतिपक्षको कुरा नै नसुनी कोरोना महमामारीलाई कुनै ध्यान नै दिएको देखिदैन ।

नागरिकलाई बन्धनमा राखेर सरकारले मनपरी गर्न खोजेको हो कि भन्ने सन्देश जानु यो बेला राम्रो होइन । लकडाउन जारी रहेको पनि महिना दिन भन्दा बढी भयो । दिउँसो काम गरेर बेलुकाको छाक टार्नेहरूका लागि यो कठोर दिन हो । त्यसकारण राहत कस्तो छ, भनेजस्तो भएको छ कि छैन भन्ने हेर्नुपर्ने ठाउँमा सरकार अन्यत्रै अलमलिएको भन्ने नागरिकलाई लाग्यो भने त्यो दुःखद पक्ष हो। यसबीचमा अर्थात् यो चौथो पटक म्याद थप्दाको समयमा सबै विपक्षीहरूले सरकारलाई केही कुरा सुझाएका छन् । प्रमुख प्रतिपक्षी दलसहितले दिएको सुझावलाई सरकराले आत्मसात गरेर आफ्नो शैलीमा सुधार गर्नुपर्छ ।

लकडाउनले कोरोनासँग जुध्न वातावरण निर्माण गरेको उल्लेख छ तर लकडाउनको उपयोग गरेर कोरोनाको जोखिम सामना गर्ने अन्य रणनीति निर्माण र कार्यान्वयनमा सरकार अयोग्य र सुस्त देखिएको भन्ने आरोप पनि सँगसँगै लागेको छ । स्वास्थ्य सामग्री पर्याप्त नहुँदा स्वास्थ्यकर्मीहरू जोखिमपूर्ण ढंगले कार्य गरिरहेका छन्, यस्तो अवस्थामा तत्काल गुणस्तरीय सामग्री पुर्‍याएर सरकारले कोरोना विरुद्धको संघर्षलाई प्रभावकारी बनाउन प्रतिपक्षहरुले सुझाव दिए पनि सरकारले त्यसको कुनै वास्ता नगरी व्यक्तिगत स्वार्थ र पदप्रतिष्ठाका लागि लड्नु दुखद् हो । यसर्थ यो समयमा सरकारले प्रतिपक्षको समेत कुरालाई आत्मसाथ गर्दै अगाडि बढ्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update