Shittalpati
आज दर खाँइदै, भोलि निराहार व्रत

सीमा भट्टराई
पाल्पा,
हरितालिका (तिज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तिज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । 

महिलाहरूले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन् । तिजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् । आफ्ना दुःख भुलाउन र भोलिपल्ट बसिने हरितालिका तिजको अवसर पारी भाद्र शुक्ल द्वितीयाका दिन नेपाली महिलाले दर खाँदै छन् । टाढा–टाढा रहेका चेलबेटी माइतीघरमा भेला भएर वा आफ्नै घरमा रहेर खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही दूध मिठाई, फलफूल लगायतका मिठा परिकारको दर खाने चलन छ । भोलिपल्ट निराहार व्रत बस्ने भएकाले आडका लागि अघिल्लो दिन साँझ अथवा बेलुकी शरीरलाई तागत दिने खालका परिकार बनाएर दर खाने चलन रहेको बुढापाकाको भनाइ छ । जसले व्रतका दिन आडिलो बनाउँछ ।

 भोलिपल्ट निराहार व्रत बस्नुपर्ने भएकाले दिनभर शरीरमा शक्ति सञ्चय गर्न टन्न दर खाने परम्परा रहेको तानसेन –३ भगवती टोलकी ७५ वर्षीया राधादेवी रायमाझी बताउँछिन् । महिला दिदीबहिनीले निराहार व्रत बसी हरितालिका तिज भने सोमबार मनाउँदै छन् । सडकदेखि सदनसम्मका महिलाहरु तिजको रमझममै व्यस्त छन् । राता सारीमा सजिएका महिलाहरुको जमघट यतिबेला हरेक घर तथा पार्टी प्यालेसमा देख्न पाइन्छ । 

    वर्ष दिनमा एक पटक आउने तिजमा रमाउने महिलाहरु खानपिनमा भने त्यत्ति ध्यान दिएको देखिदैन । खानपिनमा ध्यान नदिँदा स्वास्थ्यमा नराम्रो असर पार्ने गर्नेको चिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार रोग भएकाले बार्ने कुरा त्यसै पनि बार्नु पर्ने हुन्छ । विभिन्न रोग लागेका र निरोगीहरुले पनि खानै नहुने कुरा भनेको धेरै चिल्लो पिरो, फ्राइ गरेको खानेकुरा, विषेशगरी रातो मासु खानु स्वास्थ्यका हिसाबले राम्रो होइन । रक्सी, चुरोट आदिको सेवन गर्न नहुने चिकित्सकको सुुझाव छ । दर खाने निहुँमा आफ्नो स्वास्थ्य बिग्रने खालका खाद्यवस्तु नखान चिकित्सकले सुझाव दिएका छन् । उनीहरुले स्वास्थ्यका हिसावले निराहार व्रत बस्नुु राम्रो नभएको समेत बताउँछन् ।  यति व्रत बस्ने नै भए पानी र फलफुल खाए राम्रो हुने उनीहरुको सुुझाव छ । तिजका दिन बिहानै नुहाइधुवाइ गरी भगवान शिवको आरधना गर्दै महिला नाचगान र रमाइलो गर्नमा व्यस्त हुने गर्छन् । 

धार्मिक मान्यताअनुसार सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन बसेको व्रतसँग यो हरितालिका तिज जोडिएको पाइन्छ । तिजका दिन विवाह भएका महिलाले मात्र नभई अविवाहिता महिलाले सुयोग्य वर प्राप्त होस् भन्ने कामनाका साथ व्रत बस्ने गर्छन् । कति भने मनमा शान्तिका लागि व्रत बस्ने गरेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update