Shittalpati
नियमित खोप सँगै अण्डा वितरण गर्दै रामपुर सरकार

इमान सिं राना

पाल्पा(रामपुर । विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट बचाउन जारी रहेको लकडाउनका कारण गत चैत महिनामा अधिकांश स्थानमा नियमित खोप प्रभावित बन्न पुग्यो । बालबालिकाहरुलाई पूर्णखोप सुनिश्चिताको लागि ‘बैशाख महिना : खोप महिना’ भएकाले स्थानीय तहहरुले लकडाउनका बीच खोपलाई निरन्तरता दिएका छन् । जिल्लाको रामपुर नगरपालिका स्वास्थ्य शाखाले पनि मंगलबारदेखि खोप केन्द्रहरुमा साविकको मिति र समय अनुसार खोप लगाउन सुरु गरेको छ । प्रत्येक महिनाको १६ गते देखि २२ गते सम्मको खोप तालिका अनुसार नै नगरपालिकाले २१ वटै खोप केन्द्रहरुमा खोप सुरु गरेको छ । विगतका वर्षहरुमा झै जन्मे देखि १५ महिनाका शिशुहरु कोही पनि खोपबाट नछुटुन् भन्ने उद्देश्यले नगरपालिकाले बैशाख महिनालाई खोप महिना कै रुपमा अघि बढाएको छ ।

 

लकडाउनका बीच रामपुर नगरपालिकाको महिला तथा बालबालिका शाखाले खोप संगै शिशुहरुको पोषणको लागि अण्डा वितरण सुरु गरेको छ । शाखाले पोषण कार्यक्रम अन्तर्गत स्वास्थ्य शाखा, सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी अण्डा वितरण गरेको हो । शाखाले खोप लगाउन आएका शिशुका अभिभावकमार्फत पोषणको लागि एक÷एक क्यारेट अण्डा वितरण गरिरहेको जनाएको छ । रामपुर नगरपालिका स्वास्थ्य शाखाका अनुसार नगर भित्रका झण्डै ६ सय शिशुहरु नियमित खोपमा सहभागी हुँदै छन् । महिला तथा बालबालिका शाखाले निर्धारित पोषण कार्यक्रम अन्तर्गत लकडाउनलाई मध्यनजर गरेर अण्डा वितरण गरेको महिला विकास सहायक निरिक्षक पुजा परियारले जानकारी दिईन् । उनले पोषण कार्यक्रमको लागि विनियोजन भएको बजेट मार्फत खोपमा उपस्थित हुने सबैलाई अण्डा वितरण गरिएको बताईन् ।

रामपुर नगरपालिका स्वास्थ्य शाखाका तिर्थ प्रसाद ढुङ्गानाले २१ वटै खोप केन्द्रमा साविकको मिति अनुसार नै खोप सुरु भएको बताए । उनले गत महिना रोकिएका खोपहरु अहिले दिईने बताउँदै खोपका लागि खटिएका सम्बन्धीत स्वास्थ्यकर्मीहरुलाई सामाजिक दुरी कायम गर्नमा सहयोग गर्न महिला स्वास्थ्य स्वयमसेविका संगै सम्बन्धित वडाका जनप्रतिनिधिहरुलाई आग्रह गरिएको बताए । स्वास्थ्य शाखाका गिरिराज घिमिरेले अण्डा वितरण कार्यक्रमले पोषण संगै पूर्ण खोपको लागि समेत सहयोग मिलेको बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update