Shittalpati
युवाहरुको प्राविधिक सहयोगमा ज्वरो परीक्षण कक्ष निर्माण

इमान सिं राना
पाल्पा (रामपुर) । रामपुर अस्पतालमा युवाहरुले व्यवस्थित ज्वरो कक्ष निर्माण गरेका छन् । रामपुर– ३ का युवाहरुले निःशुल्क प्राविधिक सहयोगमा विश्व स्वास्थ्य संगठनको मापडण्द अनुसार ज्वरो कक्ष निर्माण गरेका हुन् ।

स्वास्थ्य संस्थाहरुमा पिपिई अभाव रहेको समयमा स्वास्थ्य कर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै स्थानीय सामग्रीको प्रयोग गरी स्वाव संकलनको लागि पनि हुने गरी कक्ष निर्माण गरेको हो । सीताकुण्ड आईटी एण्ड इन्जिनियरिङ्ग प्रालि बेझाँडका सञ्चालक २६ वर्षिय सुरज भण्डारी, इन्जिनियर २३ वर्षिय दिपेन्द्र न्यौपाने र स्थानिय २९ वर्षिय युवराज न्यौपानेले आल्मुनियम उद्योगका शंकर भट्टराईको सहयोगमा निर्माण गरेका हुन् । राष्ट्रिय आविस्कार केन्द्रका स्वयम सेवक समेत रहेका दिपेन्द्रले देशभर पिपिई अभाव भइरहेको समयमा चिकित्सकहरुको सुरक्षाको कक्ष निर्माण गरेको बताए । उनले भने, ‘स्थानीय सामग्रीबाटै सुरक्षित कक्ष निर्माण गर्न सकिन्छ भने हामीले जानेको ज्ञान आफ्नो ठाउँमा किन प्रयोग नगर्ने भनेर अस्पताललाई प्रस्ताव ग¥यौ । उहाँहरुले स्वीकार गर्नुभयो । सोही अनुसार राष्ट्रिय आविस्कार केन्द्रले गरेको डिजाईन अनुसार कक्ष निर्माण गरेका हौं ।’ पिपिई बिना ग्लोव्सको सहायताले स्वास्थ्यकर्मीले कक्षमा भित्रबाटै बाहिर रहेका बिरामीको परीक्षण गर्न सकिने व्यवस्था गरिएको छ । साथै सो कक्षमा आवश्यक अक्सिजन भित्र जाने व्यवस्था गरिएको छ । दिपेन्द्रले निर्माण गरिएको कक्ष विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार रहेको दावी गरे ।

उनले अहिले गाउँ–गाउँमा प्राविधिक ज्ञान भएका युवाहरु रहेको भन्दै सकेको ज्ञान कोभिड विरुद्धको अभियानमा सहयोग गर्न अनुरोध गरे । सीताकुण्ड आईटी एण्ड इन्जिनियरिङ्ग प्रालिका सञ्चालक सुरजका अनुसार ७५ हजार रुपैयाँ बराबरको सामाग्री मार्फत ज्वरो कक्ष निर्माण गरेको बताए । रामपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विजय परियारले प्राविधिक सहयोगका लागि युवाहरुलाई धन्यवाद दिदै शंकास्पद विरामीको परिक्षणको लागि सो कक्ष निकै सहज हुने बताए । उनले आवश्यक सामग्री अभाव रहेको खण्डमा कोरोनाबाट बच्न र बचाउन ठूलो मदत गर्ने बताए । डाक्टर परियारले भने, ‘यसले विरामीबाट स्वास्थ्यकर्मी र स्वास्थ्यकर्मीबाट विरामीमा रोग गर्न दिने छैन । अस्पतालमा कुनै संकास्पद विरामी आएमा हामीले यहीबाट परीक्षण गर्नेछौ । यदि महामारी फैलिहालेमा यसबाटै स्वाव परीक्षण गरिने छ ।’

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update