Shittalpati
सरकार संकटमा

प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टी भित्रबाट सरकार छोड्ने व्यापक दवाव आएपछि अहिले ओली र उनको खेमाका नेताहरुमा नयाँ राजनैतिक तरङ्ग आएको अनुभूति हुन थालेको छ । ओली र उनका नजिकका नेताहरुले नेकपालाई अलोकप्रिय बनाउने खेलमा लागेको आरोप लगाउँदै आएका कतिपय नेताहरुले अब केपी ओलीले सरकार छोड्नुपर्ने माग गर्दै आएको बेला ओलीले सरकार नछोड्ने दृढता व्यक्त गरेसँगै नेकपाभित्र खिचडी पाक्न थालेको हो । प्रचण्डको चतुर र दूरदर्शी राजनैतिक खेलमा आफै नेकपा नै फस्ने खतराप्रति सबैको चासो बढेर गएको छ । बहुबिवादित विधेयक आए लगत्तैै फिर्ता गर्ने व्यापक दवाव पछि सरकारले फिर्ता गर्ना साथ अन्तरपार्टी विवादले गर्दा ओलीको सरकारलाई आफ्नै पार्टी भित्रबाट संकट पर्दै गएको हो ।
नेपाली राजनैतिक वृतमा बहुमतको सरकारका लागि विगतमा जस्तै श्रापको शिकार हुनुपर्ने अवस्था अहिले फेरी पनि आउने संकेत अगाडि आएपछि कोभिड १९ को महामारीसँगै सरकार परिवर्तनको लहर पनि चर्केको हो । दलहरु बिच फुट ल्याएर राजकाजको आयु लम्ब्याउँछु भन्ने दिवास्वप्नका साथ अगाडि बढेका प्रधानमन्त्री ओली अहिले, पार्टी भित्रका आफ्नै सहकर्मीहरुको चक्रव्यूहमा परेका छन् । विश्व राजनैतिक वृतमा दिन प्रतिदिनका निर्णय कार्यसम्पादनमा देखिएका कमी कमजोरीका कारण ओली अलोकप्रिय बन्ने क्रम बढेको हो । यति हुँदा पनि ओलीले आफ्नो हठलाई छोडेका छैनन्, छोड्ने छाँट पनि देखिदैन । दुई तिहाईको सरकारको नेतृत्वलाई यसरी अप्ठ्यारो पार्ने काम इतिहासमै सबैभन्दा विचित्र भएको पनि महशुस गरिएको छ अहिले । पार्टी भित्रैबाट सरकारलाई यसरी अप्ठ्यारोमा पार्नेहरुलाई हिजो ओलीले पनि यो भन्दा बढी अप्ठ्यारो पारेको कारण नै प्रमुख कारण हो । ओलीलाई किनारा लगाउने इच्छाशक्ति व्यक्त गरेकाहरु हिजो ओलीले उनीहरुप्रति गरेको व्यवहारलाई पैचो जस्तै गरेको स्मरण गर्न पनि ओलीलाई सिकाएका छन् । त्यसकारण यो लडाई सरकार फेर्ने भन्दा पनि सरकारको नेतृत्व फेर्ने कुरामा बढी केन्द्रीत देखिएको छ । त्यसकारण अहिले ओली फेर्ने भन्दा पनि प्रवृति नै फेर्नुपर्ने अवस्थाप्रति सबैको चासो जानुपर्ने देखिन्छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update