Shittalpati
संसदीय समिति सभापतिमा उम्मेदवारी दर्ता हुँदै

पाल्पा, प्रतिनिधि सभा अन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सोमबार हुने निर्वाचनका लागि सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता हुने भएको हो । प्रतिनिधिसभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को कुनै एक सदस्यको समर्थनसहित । बिहान ११ः०० देखि बेलुका ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ । यसरी निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको सूची आज नै प्रकाशन गरिनेछ । यस्तो सूची दर्ताक्रमअनुसार निर्धारण हुने संसद् सचिवालयले जनाएको छ ।

 दर्ता भएको प्रस्ताव सम्बन्धित समितिको बैठकमा प्रस्तावकले सोमबार प्रस्तुत गर्ने छन् । प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्थाअनुसार संसदीय समितिमा सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र त्यसको सूचना सचिवले ४८ घण्टाअगावै प्रकाशन गर्नुपर्ने प्रावधान छ । समर्थकले उक्त प्रस्तावको समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत हुनेछ । प्रधानमन्त्री र विषयगत मन्त्रालयका मन्त्रीहरू एकभन्दा बढी समितिमा पदेन सदस्य रहने भएकाले यस्ता सदस्यले आफू कुन समितिको मतदानमा सहभागी हुने भन्ने लिखित जानकारी आइतबारसम्ममा सभामुखलाई दिइसक्नुपर्नेछ । तर प्रतिनिधिसभाको सदस्य नरहेका पदेन सदस्यले भने निर्वाचनमा मत दिन पाउने छैनन् । प्रतिनिधिसभाका १० र दुई वटा संयुक्त समितिका सभापति चयन भएका छैनन् । प्रतिनिधिसभाका समितिको गठन वैशाख १५ मा भएको थियो । सभामुखले सभापति चयनका लागि मिति नतोक्दा र राजनीतिक दलहरूले चासो नराख्दा संसदीय समितिहरू प्रभावहीन भएका थिए । सत्तारूढ र प्रमुख प्रतिपक्षले भने आ–आफ्नो दलीय उपस्थितिका आधारमा संसदीय समिति सभापति चयन गर्ने निर्णय गरिसकेका छन् । सहमतिअनुसार काँग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले २, एकीकृत समाजवादी, जसपा र जनमतले १–१ वटा समितिको सभापति लिनेछन् ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update