Shittalpati
कोरोना भाइरस रोकथामका लागि सेना तयारीमा

भैरहवा, कोभिड–१९ संक्रमणको नियन्त्रण तथा रोकथाम र उपचारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ । सेनाको प्रदेश नं ५ मा रहेको मध्यपश्चिम पृतना हेडक्वार्टर बुटवलले यसको नियन्त्रण तथा रोकथाम र उपचारका लागि क्वारेन्टाइन, आइसोलेशन र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको छ । मध्यपश्चिम हेडक्वार्टरका प्रमुख उपरथी सीताराम खड्काले प्रदेशका सबै ब्यारेकमा कूल ४ सय ५३ शैयाको क्वारेन्टाइन, १ सय शैयाको आइसोलेशन वार्ड, हेल्थ डेस्क, ‘रेपिड रेस्पोन्ट’ टिम र ‘पेसेन्ट रिसिभिङ’ टिमलाई तयारी अवस्थामा राखिएको जानकारी दिए । प्रदेशको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा आठ, प्रदेश सीमामा तीन र जिल्लामा पाँच हेल्थ डेसक स्थापना गरेको मध्यपश्चिम पृतना हेडक्वाटरको सूचना शाखाले जनाएको छ ।

सेनाले प्रदेशभरी १ सय २१ आफ्ना स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखिएको जनाएको छ । बन्दाबन्दीको कार्यान्वयन गराउनका लागि समेत नेपाली सेनाले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँगको सहकार्यमा नियमित गस्तीलाई तीव्र बनाएको छ । सेनाले प्रदेशका सबै जिल्लामा औसत २० पैदल गस्ती र १ सय १५ मोटर गस्ती गरिरहेको मध्यपश्चिम पृतना हेडक्वार्टरका प्रमुख उपरथी खड्काले जानकारी दिए । कोरोना भाइरसको महामारीको अवस्थामा आए थप क्वारेन्टाइन र आइसोलेशन स्थापना गर्ने स्थानको पहिचान तथा सेनाको प्राविधिक टोलीलाई छोटोछरितो उपचारमा खटिने तालिमको व्यवस्था समेत गरिएको बताइएको छ ।

नेपाली सेनाले सबै प्रदेश र राजधानीमा गरी चार हजार ६ सय २१ शैयाको क्वारेन्टाइन, ५ सय ९२ शैयाको आइसोलेशन वार्ड निर्माण तथा विशेष तालिम प्राप्त प्राविधिक र स्वास्थ्यकर्मी पाँच हजार ३ सय ८ खटाएको सैनिक मुख्यालयले जनाएको छ । –रासस

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update