Shittalpati
दीर्घरोगीको सहारा बन्दै सत्यवती गाउँ सरकार

गुल्मी ।  जिल्लाको सत्यवती गाउँपालिका रोगीको सहारा बनेको छ । कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण सार्वजनिक यातायातका साधनहरु नचलेको बेला गाउँपालिकाले दीर्घरोगी र असाध्य रोगीका लागि १ महिनाको लागि निःशुल्क औषधी उपलब्ध गराएको छ ।

दीर्घरोगी एवं लामो समयदेखि औषधी सेवन गर्ने मानिस औषधीका लागि बुटवल लगायतका स्थानमा जानुपर्दा परेको कठिनाई र कोरोना भाइरसको संभावित संक्रमणको जोखिमलाई मध्यनजर गरी मुटु रोगी, स्वास प्रश्वाससम्बन्धी रोग, कलेजो, हाडजोर्नी, मृगौला, थाइराइड, युरिक एसिड, प्रोस्ट्रेट, नशा सम्बन्धी रोग, मधुमेह, उच्च रक्त चाँप, मानसिक समस्या लगायतका रोगहरुबाट लामो समयदेखि पीडित व्यक्तिहरुलाई १ महिनाको लागि निःशुल्क औषधी उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारीले बताए ।

उनका अनुसार प्राथमिक चरणमा दीर्घरोगीको तथ्याङ्क संकलन पश्चात औषधी खरिद गरी स्वास्थ्यकर्मीको टोलीले बिरामीको प्रेस्कृप्सनका आधारमा छुट्टाछुट्टै पोका तयार गरी स्वास्थ्य चौकीका स्वास्थ्य कर्मी र महिला स्वास्थ्य संयमसेविकालाई प्रयोग गरी घर–घर पुगी औषधी उपलब्ध गराएको हो । गाउँपालिकाले हालसम्म ६ सय ९१ जना दिर्घरोगीका लागि १ सय २ प्रकारका औषधीहरु खरिद गरी निःशुल्क उपलब्ध गराएको छ । जिल्लामै नमूना कार्य अगाडि बढाइरहेको गाउँपालिकाले पछिल्लो पटक लकडाउनका कारण बिक्री वितरण नभएका कृषि र पशुजन्य पदार्थको तथ्याङ्क संकलन गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update