Shittalpati
रामपुरमा थप ६ जनाको आरडीटी परीक्षण नतिजा सबैको ‘नेगेटिभ’

इमान सिं राना
पाल्पा(रामपुर),जिल्लाको रामपुर नगरपालिकामा क्वारेन्टाईनमा बस्दै आएका थप ६ जनाको र्यापिड डाइगोनष्टिक टेष्ट आरडीटी परीक्षण गरिएको छ । नवलपुरको विनय त्रिवेणी गाउँपालिकाबाट पैदल हिडेर गत चैत्र २६ गते रामपुर आईपुगेका उनीहरुको १४ दिन पुगे पछि विहिबार आरडिटी परीक्षण गरिएको हो । परीक्षणको क्रममा सबैको नतिजा नेगेटिभ आए पछि उनीहरुलाई एक हप्ता सेल्फ क्वारेन्टाईनमा बस्न सुझाव दिई विदाई गरिएको हो । यस संगै रामपुरमा ३ पटकको परीक्षणबाट १८ जानको आरडीटी परीक्षण गरिएको छ । रामपुर ६ तिलकपुरको मण्डली चर्चमा आएका उनीहरुलाई नगरपालिकाले केही दिन रामपुर ४ देविस्थानको कालिका आधारभूतमा र त्यस पछि वडा नं. ५ को बालकल्याण प्राथमिक विद्यालय सानीअमराईमा राखिएको थियो । ६ जना मध्ये २ जना पुरुष, एक किशोरी र ३ जना बालक रहेका छन् । रामपुर ६ का ५७ वर्षिय छविलाल अधिकारी, विनयत्रिवेणी गाउँपालिका दुम्कीबासका ३३ वर्षिय राम बहादुर वि.क., १७ वर्षिय लोइस सापकोटा, १४ वर्षिय माइकल सिन्हा, १२ वर्षिय जोन सिन्हा, ९ वर्षिय आईज्याक सिन्हा सबैको आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको रामपुर अस्पतालका ल्याव असिस्टेन मनोज सुवेदीले बताए ।


रामपुर अस्पतालका ल्याव असिस्टेन्ट मनोज सुवेदी, रामपुर नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृतहरु गिरिराज घिमिरे, तिर्थ प्रसाद ढुङ्गानाको टोली आरडीटी परीक्षणमा खटिएको थियो । त्यस्तै आरडिटी परीक्षण पूर्व सुरक्षा बेस क्याम्प रामपुरको नेपाली सेनाको टोलीले डिसइन्फेक्सन स्प्रे गरेको थियो । यस्तै रामपुर नगरपालिकाले बिहिबार देखि थप ९ जनालाई क्वारेन्टाईनमा राखेको छ । रौटहट मजदुरहरुलाई छोड्न गएर फर्किएको लु १ ज ३७१० नम्बरको जिपमा पर्साबाट फर्किएका रामपुर ५ का ६ जना र रामपुर ३ का १ जना, चालक र सहचालक गरी ९ जनालाई बालकल्याण प्राविको क्वारेन्टाइनमा राखेको हो ।


रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्लले उनीहरुलाई सरसफाई सामग्री, खाना र बासको व्यवस्था गरिएको बताए । केही समय क्वारेन्टाईनमा होटेलबाट खानाको व्यवस्था गरिए पनि पछि नगरपालिका र वडा कार्यालयको एकजना भान्सेको व्यबस्था गरी स्कुलमा पकाउने व्यबस्था मिलाइएको मल्लले जानकारी दिए । यता रामपुर नगरपालिका १ को छम्के आधारभूतमा पनि काठमाडौं बाट फर्किएका १ जनालाई राखिएको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जहाँ छौं त्यहि सुरक्षित रहन नगरबासीलाई आग्रह गरेका छन् । थापाले लकडाउनको समयमा अनावश्यक हिड्डुल नगर्न अनुरोध गर्दै खाद्यान्नको अभाव भएमा नगरपालिकाले आवश्यक पहल गर्ने बताए । थापाले प्रशासनको निर्देशन अनुसार जुन सुकै स्थानबाट आए पनि अब आउने जो कोहीलाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा राख्ने बताए ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update