Shittalpati
गुल्मीमा जिल्ला बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा  राखिने

रमेश विश्वकर्मा

गुल्मी, विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट आम जनतालाई सुरक्षित राख्नको गुल्मीमा बाहिरबाट आउने सबैलाई क्वारेन्टाइनमा राखिने भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा बसेको विपद व्यवस्थापन समितिको बैठकले जिल्लामा बाहिरी जिल्लाबाट आउने सबैलाई स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टाइनमा अनिवार्य राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । उनले विदेशबाट आएका र पालिकाले तोकिएको  क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको र्या्पिड् डायग्नोस्टिक टेष्ट गरि प्रमाण पत्र दिने व्यवस्था मिलाउन पालिकाहरुलाई आग्रह गरे ।

त्यस्तै बालबालिकालाई दिइने खोप सेवा सुचारु गर्ने, जेष्ठ नागरिकको उपचार सेवा सुचारु गर्ने, अलपत्र परेका मजदुरलाई खान र बस्नको व्यवस्था मिलाउने, घरजान चाहनेलाई ठेगाना भएको पालिकाले गाडीको व्यवस्था गरेर घर पठाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए । दैनिक जनजिविका चलाउन गाह्रो भएका व्यक्तिहरुलाई केन्द्रीय मापदण्डको आधारमा एकरुपता पूर्वक खाद्यान्न राहत उपलब्ध गराउने, जिल्ला बाहिरबाट आउने तरकारी, फलफुल, अण्डा, मासु, कुखुरा, माछालाई विषादी जाँचपास, क्वारेन्टाइन चेकजाँच गरेको प्रमाणपत्र र यस जिल्लाको अनुमती लिएको आधारमा मात्र प्रवेश दिने पाण्डेले बताए ।

किसानहरुलाई खेतीपाती गर्ने कार्यमा सहजीकरण गर्ने कुरामा निरन्तरता दिने, जिल्लामा औषधी आपूर्ति गर्ने कार्यमा स्वास्थ्य कार्यालयले व्यवस्था गर्ने, खाद्यान्न आपूर्तिको व्यवस्थापन उद्योग वाणिज्य संघले गर्ने, जिल्लामा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल व्यवसायी संघले व्यवस्थापन गर्ने, जिल्लामा मल, बिउ, किटनाशक औषधीको आपूर्ति व्यवस्थापन कृषि ज्ञान केन्द्रले गर्ने निर्णय भएको बताईएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका अन्य वस्तु विक्री गर्ने पसलमा ज्वलनशील पेट्रोल, डिजेल र ग्यास राख्न निषेध गन,प्रत्येक एम्बुलेन्सलाई पार्टीसन गर्ने र अक्सिजन सिलिण्डर अनिवार्य रुपमा राखी मापदण्ड अनुरुप संचालन गर्ने, प्रत्येक पालिकाका दमकलको व्यवस्था गर्ने, वर्षायाममा बाढीपहिरो जान सक्ने  स्थानको पहिचान गरी जोखिमपूर्ण बस्तीको स्थानान्तरण गर्ने व्यवस्था मिलाउने, बन्दाबन्दीको अवस्थामा अति आवश्यक निर्माण कार्यहरुलाई सम्बन्धित पालिकाको सिफारिसमा अघि बढाउन सहजीकरण गर्ने लगायतको निर्णय भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update