Shittalpati
विकास र समृद्धिमा एक हौं

विकास र समृद्धिको कुरा आवश्यकताभन्दा बढी नै भइसकेका छन् । हरेक औपचारिक कार्यक्रमहरुमा नेताहरुले भाषण गर्दा प्रयोग गर्ने वाक्य नै विकास र समृद्धि हुन् । वास्तवमा कुनै पनि वस्तु वा व्यक्तिको आकार, चरित्र र विशेषतामा आउने परिवर्तनलाई नै विकास भनिन्छ ।

सार्वभौमतः यो अघिल्लो भन्दा गुणात्मक रूपमा नै फरक हुन्छ अर्थात् वस्तु वा व्यक्तिको बढ्ने र परिवर्तन हुने प्रक्रिया नै विकास हो । समृद्धि शब्दावलीको प्रयोग पनि असाध्यै धेरै भइरहेको छ । यसको अर्थ राम्रो गर्नु भन्ने हुन्छ । राम्रो गर्दै जानेक्रमको लामो प्रक्रिया पछि प्राप्त हुने चरम सुख, शान्ति, वैभव र एकरूपता नै समृद्धि हो । विकास र समृद्धि परिपूरक पदावलीहरू हुन् । यद्यपि यिनीहरू बीचको सारभूत अर्थ धेरै भिन्न रहेको छ । कतिपयले यसलाई एउटै फुर्लुङमा कोचेर विश्लेषण गर्ने गरेको पनि पाइन्छ । तर सारतः विकास र समृद्धिमा धेरै अन्तर छ ।

कुनै पनि खास मानव समाजमा सबैखाले वा समानुपातिक विकास एउटा विन्दुमा पुगेपछि अभिव्यक्त हुने उच्चतम वा उन्नत सामाजिक रूप नै समृद्धि हो । यसमा समानता र न्यायमा आधारित सुन्दरता, शान्ति, एकरूपता र वैभव अन्तरनिहित हुन्छ । भौतिक, राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक र मनोवैज्ञानिक विकास प्रक्रियाको उन्नत वा उच्चतम अभिव्यक्ति वा अवस्था नै समृद्धि हो । तर विकास र समृद्धिका जति कुरा गरे पनि त्यसले स्थान पाउन सकेको छैन । यो अत्यन्तै दुःखको कुरा हो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ ।

कथंकदाचित यो शासन व्यवस्था असफल भयो भने फर्कने भनेको प्रतिगमन तर्फ नै हो । त्यसैले, यो शासन व्यवस्थाको संस्थागत विकास गर्दै समग्र मुलुकको विकास र समृद्धिमा हातेमालो गर्दै अघि बढ्नु अहिलेको अहं आवश्यकता हो । यो शासकीय व्यवस्थालाई असफल बनाउने छुट हामी कसैलाई छैन । सरकार,राजनीतिक नेतृत्व, नागरिक समाजका सदस्य तथा आमसर्वसाधारण एकजुट भएर विकास र समृद्धिको दिशामा अगाडि बढ्न सबै एक जुट बनौं ।

प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update