Shittalpati
नेपाल र भारतबीच सात मुख्य विषयमा सम्झौता

पाल्पा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सात मुख्य विषयमा सम्झौता भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुई देशका प्रधानमन्त्रीले सात बुँदे सम्झौतामा हस्ताक्षर गरेको जानकारी गराइएको हो ।

द्वीपक्षीय सम्झौतामा नेपाल भारत पारवहन सम्झौता नवीकरण, डिजिटल पेमेन्ट सम्झौता, सिमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पु¥याउने सहमति भएको छ । त्यस्तै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने, चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरुणको पीडिए गर्ने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति भएको छ ।

नेपालले अगाडि सारेका बुहप्रतिक्षित रहेको हवाई रुट विस्तार र पञ्चेश्वर बहुद्देश्यीय परियोजनामा महाकालीको पानी बाँडफाँटको एजेण्डामा भने ठोस सहमति हुन सकेन । नेपालको मुख्य एजेन्डामा रहेका यी विषयमा भारत सहमतिमा आउन नसके जनाइएको  छ । नेपालले महेन्द्रनगरबाट हवाई रुट मागेको थियो । तर यसमा ठोस सहमति भएन । त्यस्तै पञ्चेश्वर परियोजनाको पनि टुंगो लगाउनुपर्ने माग थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार सम्मेलनमा आफ्नो मन्तव्य राख्ने क्रममा यी विषयमा भारत सकारात्मक रहेको बताए पनि ठोस सहमति भएको विषय चाहिँ सार्वजनिक हुन सकेन ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update