Shittalpati
उपचारपछि डा. भण्डारीको संसदमा पहिलो सम्बोधन : ‘जलन अस्पताल बनाऔं र पाठ्यक्रममा समेटौं’

पाल्पा, नेपाली काँग्रेसका सांसद डा.चन्द्र भण्डारी आगलागीमा परी घाइते भई उपचारपछि पहिलो पटक संसदमा सम्बोधन गरेका छन् । उनी गत फागुन ३ गते निवासमा ग्यास लिक भई आगलागीमा परेका थिए । उनको फागुन ४ गतेदेखि बैशाख १७ गतेसम्म भारतको मुम्बईस्थित नेशनल बर्नस अस्पतालमा उपचार गरिएको थियो । बैशाख १७ गते स्वदेश फर्किए पनि उनी संसदमा भने जान सकेका थिएनन् । पहिलो पटक बुधबार संसदमा पुगेका उनले गम्भीर विषय उठान गरेका छन् ।

डा. भण्डारीले उच्चस्तरीय जलन अस्पताल बनाउन सरकारसँग आग्रह गरेका छन् । उनले जलनसम्बन्धी समस्या भएका मानिसहरूका लागि उच्चस्तरीय जलन अस्पताल आवश्यकता रहेको औल्याउदै सभामुुखमार्फत सरकारलाई अस्पताल निर्माणका लागि आग्रह गरे । भण्डारीले भने, ‘उच्चस्तरीय जलन अस्पताल बनाउनुपर्छ । नेपालमा कम्पीटेन्ट चिकित्सकहरू हुनुहुन्छ । भवनको अभाव देखियो । यो केसमा धेरै गरिब मानिसहरू पर्दोरहेछ । यसमा धेरै ठूलो दर्द लुकेको छ ।’ गरिव मानिसहरु नै यसको बढी मारमा पार्ने भएकाले उनीहरुलाई पनि क्यान्सर, किड्नी रोगलाईजस्तै आर्थिक सहायता राज्यले उपलब्ध गराउनुपर्ने उनको तर्क थियो । सांसद भण्डारीले ग्याँस र विजुली जस्ता विषयबस्तु विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए । उनले भने, ‘जलन केसबाट म पीडामा रहेँ ।  यो अवस्था धेरै नेपालीले भोग्नुभएको छ । गत वर्ष १११ जनाको मृत्यु भयो । जलन केस देशभरी फैलिएको छ । गाउँ–गाउँमा ग्यास, विजुली पुग्यो । तर, हामीले ग्यास कसरी बाल्ने, बिजुली कसरी बाल्ने भनेर पाठ्यक्रममा समेटिएन ।’ उनले आफू शौभाग्यबस बाँचेर संसदमा बोल्ने अवसर पाएको उल्लेख गर्दै नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरु विश्वका कुनै पनि चिकित्सकहरु भन्दा कम नभएको पनि बताए । भण्डारीले नेपालमा जलन अस्पताल सरकारले स्थापना गरे त्यो एसियाकै सवल हुने दावी समेत गरे ।

नेता भण्डारीले ग्याँसमा स्वचालित रेगुलेटर राख्नुपर्ने व्यवस्था अनिवार्य हुनेगरी कानुन निर्माण गर्न पनि सरकारलाई सचेत गराए । सांसद भण्डारीले आफूलाई जलनबाट बचाउन भूमिका निर्वाह गर्ने नेपाल सरकार, सांसदहरु, उपचारमा संलग्न चिकित्सक, शुभचिन्तक सबैप्रति आभार पनि व्यक्त गरे ।  गत पुस ३ गते भण्डारी बस्दै आएको बुद्धनगरस्थित घरमा ग्यास सिलिण्डर पड्किँदा घाइते भएका थिए । उनकी आमाको भने निधन भएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update