Shittalpati
पाल्पामा करोडौंका ‘सांस्कृतिक डबली’ अलपत्र

रामचन्द्र रायमाझी
पाल्पा, लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माणधिन पाल्पाका दुई स्थानका सांस्कृतिक डबली पुरा नहुँदै अलपत्र परेका छन् । यहाँका विभिन्न जातजाति, समुदायका कला र संस्कृति प्रदर्शन गर्नुको साथै पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले तानसेन नगरपालिका र तिनाउ गाउँपालिकामा निर्माण थालिएका डबलीको अनुगमन तथा नियमन गर्ने निकाय नै नभएपछि पुरा नहुँदै अपलत्र परेका हुन् ।

प्रदेश सरकार उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालयले पाल्पालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजनाका साथ तानसेनको कैलाशनगर र तिनाउको नुवाकोटमा खुला सांस्कृतिक डबली निर्माणको कार्य अगाडि बढाएको थियो । डबलीको २०७८ सालको असार ७ गते निर्माण कार्य पुरा गर्ने गरी २०७६ सालको असार १५ मा ठेक्का संझौता भएको हो । यतिका वर्ष हुँदासम्म पनि काम सम्पन्न हुन सकेको छैन । वर्षौैँदेखि अलपत्र डबली सम्पन्न गर्न भन्दै प्रदेश सरकारले पटक–पटकसम्म म्याद थपिसकेको छ । तैपनि डवली सम्पन्न नहुँदा स्थानीय निराश हुँदै आएका छन् । निर्माण कम्पनीको चरम लापरवाहीले डवली अलपत्र बन्दा समेत प्रदेश सरकारले प्रभावकारी ‘एक्सन’ लिएको छैन । डिभिजन वन कार्यालय पाल्पामार्फत श्रीनगर डबली ६ करोड ८० लाखमा काठमाडौंको प्रतिष्ठा कन्ट्रक्सन प्रालिले ठेक्का लिएको र काम सकिने बेला समेत पूरा कामको वर वुजारत नै नगरी भागेपछि डबली दुुई वर्षदेखि अलपत्र परेको छ ।

सुरुदेखि नै प्रतिष्ठामा बदनियत देखियो । समयमै सम्पन्न गर्नेभन्दा विकास आयोजनाको ठेक्का लिने र होल्ड गरेर राख्ने काममा प्रतिष्ठा लागेपछि चारवर्षसम्म डबली निर्माणको खासै प्रगति हुन सकेन् । नुवाकोटमा निर्माण भईरहेको डबली तीन करोड ८४ लाखमा धुलिखेल निर्माण सेवाले काम थालेको हो । तर यो पनि अहिले अलपत्र छ । लुम्बिनी प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले डबलीको शिलन्यास गरेका थिए । करोडौंमा निर्मित डबली हालसम्म न त पुरा हुन सक्यो न त निर्मित संरचनाको संरक्षण हुन सक्यो । एक पछि अर्को गरी डबली खण्डहरमा परिणत हँुदै गएका छन् । कामको नियमन तथा अनुगमन गर्ने निकाय नै रमिते हुँदा निर्माण कार्यको ६० प्रतिशत पुरा हुन नपाउँदै डबलीको भित्री भाग जंगलमा परिणत हुन पुगेको छ । सम्बन्धित निकायले यस विषयमा वास्तै गरेका छैन । पर्यटकीय रुपमा अत्यन्तै महत्वका साथ हेरिएको यो डबली भित्र झार उम्रिएको छ भने फोहोर थुप्रिएको छ । यसले डबलीमा गरिएको लगानी ‘बालुवामा पानी’ खनाए जस्तै भएको छ । तत्कालिन शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार हुँदासम्म उद्योग वन तथा वातावरण मन्त्रालय अन्तर्गत डिभिजन वन कार्यलय पाल्पाबाट निर्माण स्थलमा नियमित रुपमा रेखदेख हुन्थ्यो । जब पोखरेल नेतृत्व परिवर्तनसँगै मन्त्रालय विभाजन भयो, रेखदेखको जिम्मेबारी पनि स्थानान्तरण भएका कारणले यस्तो समस्या आएको वन कार्यलयका सम्वद्ध कर्मचारीहरु बताउँछन् ।

अहिले पर्यटन डिभिजन कार्यलय रुपन्देहीले डबली निर्माणको जिम्मेवारी पाएको छ । निर्माण व्यवसायीको लापरपवाहीका कारण काममा ढिलाई हुन गएको पर्यटन डिभिजन कार्यालय रुपन्देहीका निमित्त प्रमुख अष्टराज गौतमले बताए । उनले भने ‘हामीले निर्माण व्यवसायीलाई ताकेता गरिरहेका छौं संभवत असार मसान्तभित्र निर्माण कार्य सकेर सम्बन्धित निकायलाई हस्तान्तरण गछौं ।’ दुई÷चार दिनमै श्रीनगर डबलीको काम अगाडि बढ्ने र नुवाकोटको पनि छिट्टै अगाडि बढ्ने उनले बताए । ‘काम सुरु भएमा श्रीनगर डबलीको एक महिना र नुवाकोटमा एक सातामा सम्पन्न हुने छ’ निमित्त प्रमुख गौतमले भने । निर्माण कम्पनीले श्रीनगर डबलीको डिजाइनमा केही त्रुटी गरेकाले निर्माण कार्यमा समय लाग्ने उनको भनाई छ । गौतमले पहिले वन डिभिजन कार्यालले जिम्मा लिएको र पछि पर्यटन डिभिजन कार्यालयलाई दिएका कारण पनि निर्माण व्यवसायीले काममा ढिलाई गरेको बताए । उनले पर्यटन डिभिजन कार्यलयले छिट्टै काम सकेर पाल्पा दरबार संग्रहालयलाई हस्तान्तरण गर्ने गरी काम गरेको एनजेडीसँगको कुराकानीमा बताए ।

डबलीको स्वामित्व लिनका लागि नगर सरकारले पटक–पटक प्रयास गरे पनि त्यो सफल हुन सकेको छैन् । प्रदेश सरकार समक्ष लिखित रुपमा माग गर्दा पनि कुनै सुनुवाइ नभएको तानसेन नगर सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । नगर सरकारले स्वामित्व पाए निर्माण कम्पनीलाई ताकेता गरेरै भए पनि निर्माण कार्य अगाडि बढाउन सकिने उनको भनाई छ । डबलीमा स्टेज, हरियो दुवो सहितको दर्शक कक्ष, कलाकारहरुको चेन्जि· रुम, कोलसेट, शौचालय, गार्ड हाउस, टिकट काउन्टर, अफिस कोठा र पार्किङ सहितको सुविधा रहेको छ । यहाँ ५ सय जना अट्ने क्षमता रहेको छ । नुवाकोटगढीमा निर्माण भएको डबली भित्र स्टेडियम, कफी हाउस, पार्किङस्थल, बाउन्ड्री, बस्ने स्थल, हरियाली बगैंचा निर्माण गरिएको छ । स्वास्थ्य जाँच केन्द्र, टिकट घर तथा सुरक्षा गार्ड बस्ने घरमा समेत निर्माण भएको छ । डबलीभित्र पाँच सय जना बसेर नाच तथा सांस्कृतिक प्रस्तुति अवलोकन गर्न सकिन्छ । तर डबली सम्पन्न नहुँदा स्थानीय निरास हुँदै आएका छन् ।

श्रीनगर डवलीको काम अगाडि बढ्दा कैलाशनगरका दीपक अधिकारी निकै खुसी थिए । आफ्नै टोलमा सांस्कृतिक डवली निर्माण हुुँदा टोलको मात्र नभई सिंगो तानसेन नै रमणीय र सुन्दर देखिने आशामा अधिकारीमा निकै उत्साह छाएको थियो । अधिकारीसँगै स्थानीय सुुमन भट्टराई पनि डवली निर्माणले पर्यटकको आगमन समेत बढ्ने भयो भन्दै खुसी भए । स्थानीय कलासंस्कृतिको संरक्षण गर्ने उद्देश्यले करोडौंको लगानीमा हिमश्रृखलाको अवलोकन गर्न सकिने ठाउँमा श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्यले तिब्रता पाएसँंगै उत्साहित भएका तानसेनवासी यतिबेला भने निरास भएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update