Shittalpati
रामपुरमा आवधिक योजना तर्जुमा कार्यशाला

पाल्पा, रामपुर नगरपालिकाको आवधिक योजना तर्जुमा सम्बन्धी ३ दिने कार्यशाला गोष्ठि विहिबार देखि शुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र प्रदेश सुशासन केन्द्र बाँकेको प्राविधिक सहयोगमा आवधिक नगर विकास योजना तर्जुमा कार्यक्रम अन्तर्गत कार्यशाला गोष्ठि शुरु भएको हो ।

गोष्ठीमा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले स्थानीय तहमा सामाजिक क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले अहिलेको आवश्यकता सामाजिक विकासमा लगानी बढाउनुु रहेको बताएका हुन् ।

थापाले पूर्वाधार विकासले मात्र नगरको विकासले पूर्णता नपाउने भन्दै पूर्वाधार भन्दा सामाजिक विकासमा लगानी बढाउन आवश्यक रहेको उल्लेख गरे । उनले भने ‘पूर्वाधारले मात्रै विकास हुँदैन् मानिसको मस्तिष्कको विकाससँग संगै भए मात्र विकासले निरन्तरता पाउने छ ।’ आफु निर्वाचित भएपछि खररहितको घर र ढल रहितको शहर कार्यक्रम शुरुवात गरेको बताउँदै उनले नगरको समृद्धिका लागि सबैको राय सुझावको खाँचो रहेको औल्याए । नगरलाई समृद्ध र विकसित नगरपालिकाको रुपमा विकास गर्न सबै एक भएर लाग्नु पर्नेमा नगर प्रमुख थापाले जोड दिए ।

प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले योजनावद्ध विकासको माध्यमबाट नगरपालिकाको समृद्धि र विकास हासिल गर्न सकिने बताए । उनले नगरको विकासका लागि आवश्यक राय सुझावका लागि कार्यक्रमको आयोजना गरिएको समेत बताए ।

कार्यशालामा सहभागिले आ–आफ्नो क्षेत्रबाट आगामी योजना तय गर्दा ध्यान दिनुपर्ने कुरा र सञ्चालन गर्नु पर्ने योजना तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा नगरपालिकामा सञ्चालन भएका विभिन्न योजना तथा कार्यक्रम हालको अवस्था, समस्या ,चुनौती र समाधानका लागि सुझाव संकलन तथा आगामी दिनमा सञ्चालन गर्नु पर्ने योजनाका विषयमा छलफल भएको थियो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यशालाको सहजिकरण सेफ ईन्जिनियरिङ कन्सल्टेन्सिका कन्सल्टेन्ट किशोर रिजाल र शालिकराम पोखरेलले गरेका थिए । कार्यशालामा आवधिक योजनाको आवश्यकता, योजना तर्जुमाका कानुनी आधार, राजश्व संकलन लगायतका विषयमा सहजिकरण गरिएको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यशाला लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमको संचालन रामपुर नगरपालिकाका योजना शाखा प्रमुख विक्रम बस्नेतले गरेका थिए । रामपुर नगरपालिकाको आयोजना र प्रदेश सुशासन केन्द्र बाँकेको प्राविधिक सहयोगमा आवधिक नगर विकास योजना तर्जुमा कार्यक्रम अन्तर्गत कार्यशाला गोष्ठि शुरु भएको हो । विहिबारदेखि शुरु भएको गोष्ठी शनिबारसम्म चल्ने छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update