Shittalpati
जेठमा पाँच नेपाली चलचित्र

काठमाडौं, वैशाखदेखि सातामै दुई चलचित्र प्रदर्शन भइरहेका छन् । कुनै साता खाली र कुनै सातामा प्रतिस्पर्धा बढ्ने नेपाली चलचित्रको पुरानै शैली जेठमा पनि देखिने सम्भावना छ । जेठको पहिलो दुई सातामा चार चलचित्र प्रदर्शन हुँदैछ । जेठ ५ गते ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शन हुँदैछ भने जेठ १२ गते ‘टुल्की’ र ‘हुक्का : एन एब्सर्ड ड्रिम’ प्रदर्शन गरिने घोषणा गरिएको छ भने २६ गते ‘नीरफुल’ प्रदर्शन गरिने घोषणा गरिएको छ ।

निर्देशक रामराघव आचार्यले आफूहरूले प्रदर्शनको मिति घोषणा गर्दा अन्य कुनै चलचित्र नरहेको जानकारी दिए । “हामी खाली मितिमा प्रदर्शन हुन् आएका हौँ । हाम्रो चलचित्र अन्य बनिरहेका भन्दा फरक छ”, उनले भने । प्रेमकथानक चलचित्रमा सुशील पोखरेल, स्व.जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आर्यन खड्का, विमला गिरी, रमेश अधिकारीलगायत कलाकारले अभिनय गरेका छन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा वीना कार्की र सन्तोषकुमार राईले सो चलचित्र निर्माण गरेका हुन् ।

अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्ट्याच’ नाम दिइएको चलचित्र ‘डाकिनी’ पनि सोही मितिमा प्रदर्शनका लागि तय भएको छ । बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का गतिविधि सुनिने दन्त्यकथामै आधारमा तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा प्रस्तुत गरिएको छ । यस चलचित्रले बौद्ध ग्रन्थको यो सुन्दर आयामलाई बाहिर ल्याउँछ ।

बौद्धधर्मका गुरु खिन्से नोर्बु (जोङ्सार खिन्से रिम्पोछे) निर्देशक रहेक उक्त चलचित्रमा साठी प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको चलचित्र छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायतले अभिनय गरेका छन् ।

नेपाल प्रदर्शनको तयारी गरिरहेका निर्माता रवीन्द्र सिंह बानियाँले नेपालमा सिमित चलचित्रभवनमा मात्र प्रदर्शन गरिने जानकारी दिए । “गुरु आउनुभएको समय पारेर काठमाडौँमा मात्र प्रदर्शन गर्दैछौँ । हामीले व्यावसायिक प्रदर्शन गर्न लागेका होइनौँ । यसले अन्य चलचित्रलाई फरक पार्छ भन्ने लाग्दैन”, उनले भने ।

जेठ १२ मा प्रदर्शन हुने चलचित्र ‘हुक्का : एन एब्सर्ड ड्रिम’ सामाजिक विषयमा निर्माण भएको बताइएको छ । शम्भु थापाको निर्देशन रहेको उक्त चलचित्रमा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अंशु न्यौपाने, तलिशा गुरुङलगायत कलाकारले अभिनय गरेका छन् ।

सोही मितिमा प्रदर्शन हुने भनिएको चलचित्र ‘टुल्की’ हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथामा आधारित छ । देव थापाको निर्देशन रहेको उक्त चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारले अभिनय गरेका छ ।

कोरोना महामारीका कारण तीन वर्षअघि प्रदर्शन स्थगित गरिएको चलचित्र ‘नीरफुल’को प्रदर्शन मिति जेठ २६ गतेलाई तय गरिएको छ । भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रलाई फूलमान वलले निर्देशन गरेका हुन् ।

“नीरफुलले भत्किएका मन र सम्बन्धको पुनर्निमाणको कथा भन्छ”, निर्देशक वलले भने । रुबी भ्याली र काठमाडौँमा छायाङ्कन गरिएको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीको अभिनय रहेको छ ।

दुई सातामा चलचित्रको भीड देखिए तापनि अन्य साता भने खालीझैँ छन् । यसको कारण चलचित्र कम हुनु र विदेशी चलचित्रको प्रदर्शनका लागि सयम तोकिएकाले यस्तो भएको हुन सक्ने वितरक करण श्रेष्ठले जानकारी दिए ।

“ठूला विदेशी चलचित्रले गर्दा पनि जेठको तेस्रो र चौथो साता अन्य चलचित्रले प्रदर्शन घोषणा गरेका थिएनन् । अहिलेसम्म पनि अन्य चलचित्रबारे जानकारी छैन । बाँकी हप्ता खाली देखिनुमा निर्माण नै कम हुनु पनि हो”, वितरक श्रेष्ठले भने । उनका अनुसार जेठ २६ पछि असार १५ मा ‘परस्त्री’ प्रदर्शन हुने घोषणा भएको छ । –रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update