Shittalpati
नियमित औषधी खानेलाई रामपुर सरकारले टोल–टोलबाट औषधी दिदै

इमान सिं राना
पाल्पा (रामपुर) । रामपुर नगपालिका ३ डाबराका ८४ वर्षिय तान बहादुर सेनले लामो समय देखि उच्च रक्तचाप र दमको औषधी सेवन गर्दै आएका छन् ।

रामपुर अस्पताल बाट नियमित स्वास्थ्य परीक्षण संगै औषधी सेवन गर्दै आएका सेनसँग २/४ दिनका लागि मात्र औषधी थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणबाट जोगाउन चैत्र ११ देखि जारी रहेको बन्दाबन्दीका कारण उनी औषधी कसरी मगाउने सोच्दै थिए । वडा नं. ३ गैलुकका ८५ वर्षिय जैन बहादुर मल्लले पनि ५ वर्ष देखि नियमित उच्चरक्तचापको औषधी प्रयोग गर्दै आएका छन् । मेडिकल मार्फत औषधी सेवन गर्दै आएका मल्ल पनि सेनले जस्तै २/४ दिन पछि औषधी मगाउने सोचमा थिए । अन्ततः शुक्रबार उनीहरुले टोलबाटै स्वास्थ्य जाँच र औषधी प्राप्त गरे संगै उनीहरुको समस्या हटेको छ ।

रामपुर नगरपालिका स्वास्थ्य शाखा मार्फत स्वास्थ्यकर्मीहरु औषधी लिएर पुगे संगै उनीहरुको समस्या हटेको हो । मल्ल र सेनको मात्र होईन नियमित औषधी सेवन गर्दै आएका औषधी पसल तथा स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका दिर्घरोगीहरुले लकडाउनका बीच घरबाटै औषधी पाउने भएका छन् । लकडाउन लम्बिदै जाँदा नियमित औषधी सेवन गर्दै आएका दिर्घरोगीहरु थप प्रभावित बन्न सक्ने भएकाले नगरपालिकाले शुक्रबारबाट टोलटोलमा औषधी पु¥याउने व्यवस्था गरेको हो । उच्च रक्तचाप, मधुमेह, दमको औषधी सेवन गर्दै आएका विरामीहरुको सहजताको लागि सम्बन्धित स्वास्थ्य संस्थाका स्वस्थ्यकर्मीहरु परिचालन गरी औषधी वितरण सुरु गरेको हो । टोल मै सेवा प्राप्त भए पछि उनीहरुमा खुशी छाएको छ ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाको नेतृत्वमा गएको टोलीले रामपुर नगरपालिका वडा नं. ५ को लामटाङ, गैलुक र डाबरा टोलमा पुगेर ९५ जनालाई स्वास्थ्य परीक्षण गरी औषधी प्रदान गरेको छ । घुम्ती सेवा मार्फत नियमित औषधी सेवान गर्दै आएका उच्च रक्तचाप, मधुमेह, दमका विरामीहरुलाई आवश्यकता अनुसार औषधी प्रदान गरिएको र प्रेसर, ज्वरो जाँच सहित सामान्य उपचार सेवा दिइएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिए । उनले भने, ‘दिर्घरोगीहरुले सेवन गर्दै आएको औषधी प्रदान गरेका छौं । केहीले नयाँ औषधी पनि प्रयोग गर्दै आउनु भएको छ । उहाँहरुको लागि आवश्यता अनुसार बाहिरबाट आपूर्ति गरेर भए पनि दिने प्रयास गरेका छौं ।’ रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जनताको स्वास्थ्य प्रति नगरपालिका प्रतिवद्ध भएर लागेको बताए । उनले लकडाउनका कारण दुर्गम क्षेत्रका नागरिक औषधी पसल र स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा उनीहरु नियमित औषधी सेवनबाट वञ्चित हुन सक्ने भएकाले स्वास्थ्य शाखा मार्फत घुम्ती सेवा सुरु गरिएको बताए ।

थापाले नगरभित्रका ८ वटै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई नागरिकको दैलोसम्म पुग्न निर्देशन दिईएको बताए । थापाले भने ‘सबै नागरिक स्वास्थ्य संस्था र औषधी पसलसम्म आउन सक्ने अवस्था छैन । त्यसैले जनताको दैलोसम्म पुगेर दिर्घरोगीहरुको अवस्था परीक्षण गरी आवश्यक औषधी उपलब्धताको आधारमा प्रदान गर्न भनेका छौं । नगरपालिकामा सबै खालका औषधी नहुन पनि सक्छ उनीहरुको तथ्याङ्क संकलन गरी आवश्यता अनुसार बाहिरबाट आपूर्ति गरेर दिन निर्देशन दिएको छु ।’ स्वास्थ्य टोलीले स्थानीयमा देखिएका सामान्य रोगहरुको समेत परीक्षण गरी आवश्यक औषधी तथा परामर्श दिएको छ । लकडाउनको सुरुवात देखि नगरपालिकाले सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सहितको मोबाईल टोली समेत परिचालन गर्दै आएको थियो । शुक्रबार रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरे, रामपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरु पुन धिताल र कमला श्रेष्ठले स्वास्थ्य जाँच संगै औषधी प्रदान गरेका थिए ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update