Shittalpati
दिर्घरोगीलाई माथागढी सरकारले निःशुल्क औषधी  दिने

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले दिर्घरोगीले नियमित सेवन गर्नुपर्ने औषधि निःशुल्क उपलब्ध गराउने भएको छ । दिर्घरोगीहरुका लागि औषधि लिन सदरमुकाम वा बुटवल, भैरहवा जानुपर्ने बाध्यता रहेकाले लकडाउनका बेला उनीहरु बढी प्रभावित हुने भन्दै गाउँपालिकाले घरमै निःशुल्क औषधि उपलब्ध गराउने व्यवस्था गर्न लागेको हो ।  कोरोना भाईरसको संभावित संक्रमणको कारण उत्पन्न प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै नियमित औषधि सेवन गर्ने दिर्घरोगीहरूका लागि लकडाउन अवधिभर निःशुल्क औषधि व्यवस्था गरिने गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए ।

लकडाउनको पूर्ण पालना र कोरोना संक्रमण हुन नदिन गाउँपालिकाले निःशुल्क रुपमा घरमै औषधि पुर्‍याउने निर्णय गरेको हो । लकडाउनका बेला क्यान्सर,सुगर, प्रेसर, मुटु र बाथ लगायतका रोगको औषधि किन्न बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिका भित्र नै औषधि उपलब्ध गराउने ब्यवस्था मिलाईने अध्यक्ष थापाले बताए । उनले भने, ‘दिर्घरोगीहरूको विवरण स्वास्थ्य चौकी मार्फत संकलन गरी नेपाल सरकारले निःशुल्क भनिएका बाहेकका औषधिहरु उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।’

कोरोना संक्रमण जोखिम नियन्त्रण र औषधि सेवन गर्न नपाएकै कारण दिर्घरोगीहरुको स्वास्थ्यस्थिती नबिग्रीयोस भन्ने उद्देश्यले गाउँपालिकाले यस्तो सुविधा उपलब्ध गर्न लागेको अध्यक्ष थापाले बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update