Shittalpati
ऐतिहासिक आख्यान अस्तित्वको लोकार्पण

पाल्पा, ऐतिहासिक आख्यान अस्तित्वको लोकार्पण गरिएको छ । पाल्पाली साहित्यकार तथा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीद्वारा लिखित अस्तित्वको तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो ।

पाल्पा साहित्य समाजको २९ औं स्थापना दिवसको अवसरमा उक्त कृति विमोचन गरिएको छ । कृतिको जिल्ला समन्वय समिति पाल्पाका सभापति टंकनाथ खनालले विमोचन गरेका हुन् । कृति विमोचन गर्दै प्रमुख अतिथि समेत रहेका खनालले अस्तित्व प्रकाशनले पाल्पाको साहित्यको इतिहासमा एउटा नयाँ इटा थप्ने काम गरेको बताए । उनले कृतिले ऐतिहासिक पाल्पाको अस्तित्वलाई समेत उजाग गरेकोमा खुसी व्यक्त गरे । ‘लेखकले इतिहासलाई साहित्यको माध्यमबाट आध्यात्मिकरण गरी वस्तुनिष्ठ तरिकाले प्रस्तुत गरेका छन्’ प्रमुख खनालले भने ।

कार्यक्रममा समाजका संरक्षक राजेन्द्रगोपाल सिंहले इतिहास लेखन कहिल्यै पूर्णता नहुने बताए । उनले ईतिहासका अस्पष्टताहरू स्पष्ट हुँदै जानुपर्ने धारणा व्यक्त गरे । बुद्धिजीवी एवं लेखक निर्मल श्रेष्ठले पाल्पाको वाङ्मयको क्षेत्रमा एउटा अर्को कृति थपिनु सुखद पक्ष रहेको बताए । उनले सेनकालीन इतिहासका सन्दर्भ र तथ्यमाथि प्रकाश पार्ने काम समेत गरे । लुम्बिनी वाङ्मय प्रतिष्ठान पाल्पाका उपाध्यक्ष गोविन्द नेपालले पाल्पा साहित्य समाज र लेखक पुष्कर अथक रेग्मीको उत्तरोत्तर प्रगतिको कामना गरे । कृतिको त्रिभुवन बहुमुखी क्याम्पसका उप प्राध्यापक पुष्कर आचार्यले समीक्षा गरेका थिए । कृतिको समीक्षा गर्दै उनले आख्यानले सेनकालीन पाल्पाको अस्तित्व खोजेको बताए । शुन्य अध्यायबाट शुरू भएको अस्तित्व आत्मोध्यायमा टुंगिएको उनको भनाई छ । बिचका ३१ वटा अध्यायमा कथाहरू आध्यात्मिक शैलीमा रहेको उनले बताए । पूर्वजहरूमा समर्पित कृतिमा जन्मभूमिको अस्तित्व खोजिएको समिक्षक आचार्यको भनाई छ । कार्यक्रममा उक्त कृतिमा रहेको लोकगीत कलाकार विष्णु पन्थ र साहित्यकार गुणवती केसीले गाएका थिए । गीतले राजा पृथ्वीपाल सेनकी रानी परमेश्वरीको दर्दभरि कहानी प्रस्तुत गरेको थियोे । लेखक रेग्मीले कोरोनाकालमा १० दिन लगाएर आख्यान लेखिएको बताए । उनले एक पटक सबैलाई पढ्न पनि आग्रह गरे ।

२०५१ सालमा स्थापित पाल्पा साहित्य समाजले पाल्पामा नियमित र बैधानिक रूपमा साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ । समाजले विभिन्न पुस्तक प्रकाशन गर्दै आएको छ । रेग्मीको तेइसौं कृति अस्तित्व पनि समाजद्वारा प्रकाशित कृति हो । यो कृति पठनीय र उदाहरणीय रहेको छ । समाजका संरक्षक राजेन्द्रगोपाल सिहको अध्यक्षता, कोषाध्यक्ष पुरूषोत्तम अर्यालकरुो स्वागत, सचिव सविता भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियोे ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update