पाल्पा, आज सेप्टेम्बर ८ तारिक, विश्वभर विभिन्न कार्यक्रम गरी नेपालसहित विश्व फिजियोथेरापी दिवस मनाइँदै छ । शारीरिक स्वास्थ्य, सक्रिय जीवनशैली तथा पुनस्र्थापनामा फिजियोथेरापीको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले दिवस मनाउन लागिएको हो ।
हरेक वर्ष सेप्टेम्बर ८ मा मनाइने यो दिवसले स्वास्थ्य सेवामा फिजियोथेरापिस्टको महत्वपूर्ण भूमिकालाई उजागर गर्दै फिजियोथेरापी सेवाको पहुँच र प्रभावकारिता विस्तारमा जोड दिँदै आएको छ । विश्वभरका फिजियोथेरापीस्टहरुले विश्व फिजियोथेरापी दिवसका रुपमा मनाउने गर्दछन् । प्रत्येक वर्ष झैं यस वर्ष पनि यो दिवस मनाउन लागिएको हो । नेपालमा पनि सन् २००० देखि यो दिवस मनाउन थालिएको पाइन्छ । फिजियोथेरापी भनेको एक उपचार पद्धति हो जसले उचित शारीरिक क्षमता मूल्यांकन गरी मानिसको जीवनस्तर (क्वालिटी अफ लाइफ) उकास्नका लागि मद्दत गर्दछ । यसले विभिन्न रोग लाग्नबाट रोकथाम गुर्नका साथै रोग लागिसकेकालाई त्यस समस्याबाट बाहिर निस्कन मद्दत गर्छ । फिजियोथेरापीलाई सामान्यतया चोटपटक, हाडजोर्नी तथा मांसपेशीको समस्या निको पार्ने उपचारका रूपमा बुझिए पनि यसको भूमिका त्यसभन्दा निकै व्यापक रहेको विज्ञहरू बताउँछन्।
शारीरिक गतिविधि बढाउने, मांसपेशीको शक्ति तथा सन्तुलन सुधार गर्ने, दैनिक गतिविधिमा आत्मनिर्भर बनाउन सहयोग गर्ने र दीर्घरोगको व्यवस्थापनमा साथ दिने काममा फिजियोथेरापी महत्वपूर्ण मानिन्छ । विशेषगरी स्ट्रोकपछि हातखुट्टाको चाल, सन्तुलन, हिँडडुल तथा दैनिक क्रियाकलापमा आएको समस्या सुधार गर्न पुनस्र्थापना सेवाको महत्वपूर्ण भूमिका हुन्छ । त्यस्तै, हृदय तथा रक्तनलीसम्बन्धी रोग भएका व्यक्तिलाई सुरक्षित र उपयुक्त शारीरिक गतिविधिमा फर्काउन पनि फिजियोथेरापी तथा पुनस्र्थापना सेवाले सहयोग पु¥याउन सक्छ । कतिपयलाई औषधिले काम नगरेको खण्डमा समेत फिजियोथेरापीद्धारा उपचार गर्ने गरिन्छ । विभिन्न चोट पटकका कारणले भएको भौतिक पीडा लगायत मांशपेशीको पीडा कम गर्न फिजियोथेरापिस्टहरु विभिन्न व्यायाम तथा उपचार गर्न सुझाव दिन्छन् । मांशपेशी च्यातिएको (लिगामेन्ट टियर), कमजोर मांशपेशी, स्वास प्रश्वास सम्बन्धी समस्या, घाँटी तथा जीउको दुखाई कम गर्न पनि फिजियोथेरापी उपयुक्त मानिन्छ ।


