Shittalpati
आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

पाल्पा, आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइँदैछ । नेपालमा हरेक वर्ष भदौ २२ गतेको दिनलाई निजामती दिवसको रुपमा मनाइन्छ ।

नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो । विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टड्ढप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो । निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ । राज्यले आफ्ना नागरिकलाई आफ्नो उपस्थिती र न्यायमा आधारित प्रशासनको प्रदान गर्न निजामती कर्मचारीहरुको भुमिका अतुलनिय हुन्छ । निजामती सेवाको आदर्श र यस क्षेत्रमा अन्य क्षेत्रहरुबाट ब्यवहारले सुशासन र प्रशासनप्रति जनविश्वास जाहेर गर्दछ ।

जनतालाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र सेवामुखी प्रशासन प्रदान गर्ने उद्देश्यका साथ मनाइने यस दिवसले निजामती सेवाको भूमिका, जिम्मेवारी र चुनौतीबारे पुनःस्मरण गराउने अवसर  पनि प्रदान गर्दछ । निजामती सेवा राज्य सञ्चालनको महत्वपूर्ण आधारका रूपमा रहेको छ । सरकारका नीति तथा कार्यक्रमलाई नागरिकस्तरसम्म पु¥याउनेदेखि सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, प्रशासनिक व्यवस्थापन तथा राज्यका विभिन्न निकायबीच समन्वय कायम गर्न निजामती कर्मचारीको महत्वपूर्ण भूमिका रहँदै आएको छ । बदलिँदो समयसँगै नागरिकका अपेक्षा पनि बढ्दै गएका छन् । प्रविधिको तीव्र विकास, डिजिटल सेवा विस्तार, पारदर्शिता, जवाफदेहिता र छिटोछरितो सेवा प्रवाह आजको प्रशासनका प्रमुख आवश्यकता बनेका छन् । त्यसैले परम्परागत कार्यशैलीमा सुधार गर्दै नागरिकमैत्री र परिणाममुखी प्रशासन निर्माण गर्नु निजामती सेवाको प्रमुख चुनौतीका रूपमा देखिएको छ । 

निजामती दिवसले कर्मचारीलाई आफ्नो कर्तव्य, जिम्मेवारी र आचरणप्रति थप प्रतिबद्ध हुन प्रेरित गर्ने अपेक्षा गरिएको छ । सार्वजनिक पदलाई व्यक्तिगत सुविधा वा अधिकारका रूपमा नभई नागरिकको सेवा गर्ने अवसरका रूपमा लिनुपर्नेमा सरोकारवालाहरूले जोड दिँदै आएका छन् । सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिँदै प्रशासनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सके मात्र नागरिकले राज्यको उपस्थितिलाई प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्नेछन् । त्यसका लागि राजनीतिक नेतृत्व, प्रशासनिक संयन्त्र र नागरिकबीचको सहकार्य आवश्यक देखिन्छ । निजामती दिवस केवल कर्मचारीको सम्मान गर्ने अवसर मात्र नभई ‘जनताको सेवामा समर्पित प्रशासन’ निर्माण गर्ने प्रतिबद्धता दोहो¥याउने दिन पनि हो । सक्षम, इमानदार, जिम्मेवार र प्रविधिमैत्री निजामती सेवाबाट मात्र समृद्ध, सुशासित र नागरिकमैत्री राज्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update