Shittalpati
पूर्वमन्त्री पाण्डेयको नयाँ वर्ष : साहित्यिक यात्राको सुरुवात

पाल्पा, पूर्व उद्योग मन्त्री, नेकपा एकिकृत समावादीका पोलिटव्युरो सदस्य सोमप्रसाद पाण्डेयले नयाँ वर्षको अवसरमा नयाँ यात्राको थालनी गरेका छन् । लामो समयदेखि राजनीतिक क्षेत्रमा सक्रिय बन्दै सरकारको उच्च ओहोदामा पुगेका पाण्डेयले नयाँ वर्षको पहिलो दिनदेखि साहित्यिक यात्रा तय गरेका हुन् ।

सानै उमेरदेखि कविता, श्लोक लेख्न र गुनगुनाउनमा रुचि राख्ने पाण्डेयले राजनीतिसँगै साहित्यक यात्रा अगाडि बढाउने गरी आफ्नो यात्रालाई साहित्यतर्फ डोर्‍याएका हुन् । पूर्व संघीय सांसद समेत रहेका पाण्डेयले पाल्पाको ऐतिहासिक साहित्यिक पुस्तकालय धवल पुस्तकालयमा नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदानको कार्यक्रमको आयोजना गरी साहित्यिक यात्राको शुभारम्भ गरेका छन् । उनले कवितामार्फत नै नयाँ वर्षको शुभकामना दिएका छन् । पाण्डेयले देश तथा विदेशमा रहेका नेपालीहरुलाई कविताबाट नयाँ वर्षको शुभकामना व्यक्त गरे । पाण्डेयले आम नागरिक सधै खुसी, सुखी, स्वास्थ्य रहन सकुन भन्ने कामना गरेका छन् । उनले कुनै पनि नागरिकको आँखामा आँसु देख्न नपरोस्, सबैमा समृद्धि छाओस्, सधै सकरात्मक सोच, परोपकारी भावना जागृत होस्, सबैमा देशप्रति राष्ट्रिय र प्रेम भाव पैदा होस् भन्ने कामना समेत कवितामार्फत गरेका छन् ।

पाण्डेयले कविता वाचन गर्दा हलमा उपस्थित सबै अचम्म परी सुनिरहेका थिए । सधै राजनीतिक भाषणमार्फत जनताको आवाज बोल्ने पाण्डेयले आफ्नै रचनामा कवितामार्फत जनताप्रति शुभेच्छा प्रकट गर्दा धेरै जना अचम्ममा परे । उनले आफुले साहित्य नपढेको तर मन साहित्यतर्फ भएको भन्दै कृति प्रकाशनको सुरुवात नयाँ वर्षबाटै प्रारम्भ भएको बताए । पाण्डेयले भने ‘धेरै कविताहरु लेखेको छु, अब ति कविताहरुलाई क्रमशं प्रकाशनको रुपमा लैजानका लागि पनि नेपालको ऐतिहासिक र पुरानो साहित्यक संस्था धवल पुस्तकालयबाट कविता सार्वजनिक गरेको हुँ ।’

शुभकामना आदान –प्रदान कार्यक्रममा जिल्लाका प्रमुख व्यक्तिहरु, पूर्व मन्त्री, सांसद, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधिहरु, प्राध्यापक, साहित्यकार,पत्रकार, विद्यार्थी लगायतले एक आपसमा पुष्पगुच्चा लिएर शुभकामना आदान–प्रदान गरे । धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेलको अध्यक्षता, त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update