Shittalpati
छुवाछुत व्यवहारमै अन्त्य गर्नुपर्नेमा जोड

पाल्पा, सामाजिक कुरीतिका रुपमा रहेको छुुवाछुतलाई व्यवहारबाटै अन्त्य गरिनुपर्नेमा एक कार्यक्रमका सहभागी जोड दिएका छन् । जिल्लाको रामपुरमा आयोजना गरिएको छुवाछूत कुरीति विरुद्धको सचेतनामुलक कार्यक्रममा सहभागीहरुले व्यवहारबाटै छुवाछुत अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् ।

रामपुर नगरपालिकाको आयोजनामा वडा ४ देविस्थानमा भएको सचेतना कार्यक्रममा नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले छुवाछूत कुरीतिले समाजमा विभेद ल्याउने र समाजलाई विकराल अवस्थामा पुर्‍याउने भएकाले यसको अन्त्य हुनुपर्ने बताइन् । उनले पछिल्लो समय छुवाछुतका घटना न्यूनीकरण हुँदै गए पनि उन्मूलन भने हुन नसक्नु दुखद् रहेको औँल्याइन् । समाजबाट छुवाछूत र कुरीति नहटेसम्म समाज परिवर्तन र विकसित भएको अनुभुति नहुँने भन्दै यसको अन्त्यको लागि व्यवहारबाटै हटाउनुुपर्ने उपप्रमुख थापाले बताइन् । उनले भनिन् ‘कागजमा छुवाछुतको अन्त्य गरिने भनिए पनि व्यवहारमा लागु हुन सकेको छैन, अझै पनि अधिकांस शिक्षित वर्गबाटै छुवाछुतका घटना हुने गरेका छन्, व्यवहारबाट नहटाउँदासम्म यो समस्याकै रुपमा रहन्छ, त्यसैले सबैले आफ्नो व्यवहारबाटै हटाउन आवश्यक छ ।’ नगर प्रवक्ता कपिलबहादुर खाँणले शिक्षा र सचेतनाको कमीका कारण अझै पनि छुवाछुतका घटना हुने भन्दै यसका लागि सबै एक भएर लाग्नुपर्ने बताए । विभिन्न जातिय विभेद र कुरीतिले स्वंयम व्यक्ति र समाजलाई नै पछाडी धकेल्ने भएकाले यसलाई हटाउने जिम्मेवारी सबैको भएको उनले उल्लेख गरे ।

कार्यक्रममा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य मायादेवि नेपाली, नेपाली काँग्रेस महासमिति सदस्य विष्णुप्रसाद आचार्य, नेपाली काँग्रेसका जिल्ला सह–सचिव हमिद अलि मिया, काँग्रेसका जिल्ला सदस्य बुद्धि प्रकाश रेग्मी, नेकपा एमालेका जिल्ला सदस्य सञ्जु परियार, वडा १ का दलित महिला सदस्य जीवन माया नेपाली, नेपाली काँग्रेस रामपुर ४ का वडा सभापति थर्कबहादुर राना, लक्ष्मी आधारभुत विद्यालयका अध्यक्ष विमल श्रेष्ठ लगायतले समाजमा रहेको छुवाछूत र कुरीतिको अन्त्यका लागि सबै प्रतिवद्धता भएर लाग्नुपर्ने बेला आएको बताए । कार्यक्रमको सहजिकरण सहजकर्ता अनिल खनालले गरेका थिए । वडा अध्यक्ष रामबहादुर रानाको अध्यक्षता, रामपुर नगरपालिका महिला विकास शाखा प्रमुख पुजा परियारको स्वागत, न्यायिक समिति सदस्य सचिव पार्वती परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update